
नेपालगञ्ज, बाँके भदौ ५ – बाँके जिल्लास्थित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दर्ताका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको छ।

आयोगका बाँके जिल्ला अध्यक्ष घननाथ खनालका अनुसार, यसअघि प्रकाशित सूचना र २०८२ साउन ९ गते बसेको बैठकको निर्णयबमोजिम फाराम भर्न छुटेका व्यक्तिहरूलाई अन्तिम अवसर प्रदान गरिएको हो। “यो सूचनापछि तोकिएको समयसीमाभित्र फाराम दर्ता नगर्ने व्यक्तिहरूको हकमा आयोग, समिति वा कार्यालयले कुनै जिम्मेवारी लिने छैन,” अध्यक्ष खनालले भने।
आयोगले बाँके जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकालाई यो सूचना व्यापक प्रचार–प्रसार गरी सम्बन्धित वडाहरूसम्म पुर्याउन निर्देशन दिएको छ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण दर्ता गर्न सम्बन्धित वडा कार्यालयमार्फत तोकिएको ढाँचामा निवेदन फाराम भर्न आह्वान गरिएको छ। यो सूचना सम्बन्धित सबैले गम्भीरतापूर्वक लिई समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न आयोगले अनुरोध गरेको छ।
३५ दिने अन्तिम सूचना
