
नेपालगन्ज, नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेको तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले अभिनाष गुप्ताको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। शनिवार नेपालगन्जमा आयोजित कार्यक्रममा गुप्ता दुई वर्षीय कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा नियाज अलि इद्रिसी, मोहनजंग डागर र प्रमिला थापा मगर, महासचिवमा लेखनाथ शर्मा, सचिवमा दिनेश नेपाली र बादल बाबु शर्मा, कोषाध्यक्षमा सन्तोष गौतम र सह–कोषाध्यक्षमा विकास गुप्तासहित २३ सदस्यीय कार्यसमिति चयन भएको छ।
उद्घाटन सत्र संघका निवर्तमान अध्यक्ष सुरेन्द्रकुमार डफगरको अध्यक्षतामा भएको थियो। कार्यक्रममा केन्द्रीय अध्यक्ष युवराज भुसाल प्रमुख अतिथि र औषधि व्यवस्था विभाग, नेपालगन्ज शाखाका प्रमुख निनु श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
केन्द्रीय अध्यक्ष भुसालले फार्मासिस्टहरूको भूमिकालाई राज्यले सकारात्मक रूपमा लिनुपर्ने र फार्मेसी व्यवसायको विकासमा उनीहरूको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए। यस्तै, औषधि व्यवस्था विभागकी प्रमुख श्रेष्ठले औषधि व्यवसायीहरूलाई इमानदारी र नीति–नियम पालना गरी व्यवसाय सञ्चालन गर्न सुझाव दिइन्।
कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष खेमराज तिवारी, महासचिव उदय खत्री, पूर्व केन्द्रीय सदस्य दिनेश विष्टलगायतको उपस्थिति रहेको नवनिर्वाचित सचिव दिनेश नेपालीले जानकारी दिए।
नवनिर्वाचित कार्यसमितिले फार्मेसी क्षेत्रको विकास र व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
