‘मानव अधिकार र सञ्चार’ विषयक अन्तरक्रिया सम्पन्न

संवाददाता
संवाददाता

नेपालगञ्ज । नेपालगञ्जमा ‘मानव अधिकार र सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा आज ‘मानव अधिकार र सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मानव अधिकारको अभ्यास, संरक्षण र प्रबद्र्धनमा सञ्चारको महत्वपूर्ण भूमिका हुने भन्दै मिडिया स्वतन्त्र भए मात्र मानव अधिकार बलियो हुने धारणा ब्यक्त गरिएको छ । मानव अधिकारको संरक्षणमा सञ्चार अनिवार्य साधन भएको बताउँदै सहभागीहरुले सञ्चार स्वतन्त्र, निष्पक्ष र उत्तरदायी भए मात्र लोकतन्त्र र मानव अधिकारको रक्षा सम्भब हुने बताए ।

यस्तै सामाजिक मुद्दाहरुलाई अधिकारकर्मीहरुले सशक्त ढंगले उठाउने र त्यसलाई सञ्चारले तार्किक निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुरुले लामो समयपछि अधिकारकर्मी र पत्रकारहरु औपचारिक रुपमा एकै थलोमा उपस्थित भई मन्थन गर्ने अवस्था बनेको बताउँदै यस्ता कार्यक्रमलाई नियमितरुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रमुख अतिथि चौलागाईले नागरिक अगुवा संगठनहरु सहकार्य र समन्वय गरेर अघि बढ्न आवश्यक रहेको चर्चा गर्दै संगठित ढंगले अघि बढे सञ्चार र मानव अधिकारको अवस्थालाई प्रबद्र्धन गर्न टेवा पुग्ने बताए । उनले बाँकेमा लामो समयको अन्तरालमा सुखद सुरुवात भएको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिए । चौलागाईले सञ्चार र मानव अधिकार एक अर्काका परिपूरक भएको बताए ।

बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले अब संगठित ढंगले अघि बढ्न जरुरी रहेको बताउँदै सञ्चार र मानव अधिकारबीच गहिरो सम्बन्ध रहेको बताए । उनले सञ्चारकर्मी र मानव अधिकारकर्मी मिलेर मानव अधिकार संरक्षणमा लाग्नुपर्ने बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले विभिन्न पेशागत र सामाजिक अगुवा संगठनबीचको विगतको समन्वय र सहकार्य कमजोर बनेकाले अब नयाँ ढंगले अघि बढ्न आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । मानव अधिकार संरक्षण र सम्बद्र्धनमा सञ्चार क्षेत्र अग्रपंक्तिको मानव अधिकार रक्षक भएको चर्चा गर्दै उनले सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दाहरुमा एकाकार हुन कार्यक्रमले प्रेरित गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले अब कम्तीमा दुई महिनामा एक पटक सामग्री (विषयबस्तु) र सन्दर्भमा आधारित छलफल, बैठक, अन्तरक्रिया आयोजना गर्न अगुवाई गर्ने उद्घोष गरे । उनले मानव अधिकारमैत्री वातावरण निर्माणका लागि फिल्ड मनिटरिंग (क्षेत्र निगरानी) मा सहकार्यात्मक समन्वय गर्ने पनि बताए । अध्यक्ष गिरीले अधिकारबादी, पेशागत संगठन र सञ्चार जगतले सामाजिक मुद्दाहरुलाई ‘भाइब्रेन्ट’ गर्न सके समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले त्यसका लागि अब छिट्टै नेटवर्क बनाएर अघि बढ्ने उद्घोष समेत गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका मानव अधिकार अधिकृत दयाराम पाठक, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, अधिबक्ताहरु विकास आचार्य, बसन्त गौतम, बिर बहादुर ओली, अधिकारकर्मीहरु प्रकाश उपाध्याय, कमला पन्त, केशव कोइराला, प्रभात सिंह ठकुरी, केशव नेपाली, पत्रकारहरु प्रेम कसी, निरज गौतम, नरेन्द्रजंग पिटर, मो. आरिफ अन्सारी, विरेन्द्र जैसी, साहिदा साहले सामाजिक अभियानहरुलाई तार्किक निष्कर्षमा पुर्याउन आपसी सहकार्य र समन्वयलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए । त्यसक्रममा इन्सेकले सन् २०२५ जनवरीदेखि जुनसम्मको अवधिमा मानव अधिकारको अवस्था चित्रित तथ्यांकीय विवरण पनि उपलब्ध गराएको थियो ।

Leave a Comment

सम्बन्धित खबर