नेपालगन्जमा नागपञ्चमीको अवसरमा परम्परागत गुडिया पर्व मनाइयो

संवाददाता
संवाददाता

नेपालगन्ज, १३ साउन २०८२ – नेपालगन्जमा आज नागपञ्चमीको अवसरमा परम्परागत गुडिया पर्व हर्षोल्लासका साथ मनाइएको छ। यो ऐतिहासिक पर्वमा स्थानीय अवधी समाजका भाइबहिनीहरूले परिवार र समूह बनाएर नजिकको चोकमा जम्मा भई कपडा र रुईबाट बनेका प्रतीकात्मक गुडियाको पुतलीलाई पिट्ने परम्परालाई निरन्तरता दिएका छन्।

नेपालगन्ज उद्योग व्यापार संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यका अनुसार यो परम्परा नेपालगन्जमा करिब २ सय वर्षदेखि चलिआएको छ। “हाम्रा पुर्खाहरूले बुवा–बाजेको पालादेखि यो चलनलाई निरन्तरता दिँदै आएका छन्। यो पर्व असत्यमाथि सत्यको जीतको प्रतीक हो,” उनले भने। वैश्यले थपे, “यो परम्परा भगवान श्रीकृष्णले राक्षसी पुतनाको बध गरेको सम्झनामा मनाइन्छ, जसले उनलाई विषाक्त स्तनपान गराउन खोजेकी थिइन्।”

नागपञ्चमीको दिन त्रिभुवन चोकको पूर्वलाइनमा अवधी समाजका हजारौं आस्थावान र श्रद्धालुहरू जम्मा भएर सामूहिक रूपमा प्रतीकात्मक गुडियाको पुतलीलाई पिट्ने कार्यमा सहभागी भए। स्थानीय श्रद्धालु धुर्ब राज शर्माले भने, “यो पर्व हाम्रो सांस्कृतिक पहिचानको हिस्सा हो। हामी सबै मिलेर उत्साहका साथ गुडिया पिट्ने परम्परालाई जीवन्त राख्छौं।”

स्थानीय अगुवा राजकुमार आर्याले यो परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गरी लोप हुनबाट जोगाउनुपर्ने बताए। “नेपालगन्जको यो अनुपम संस्कृतिलाई जोगाउन सबैको सहयोग आवश्यक छ,” उनले जोड दिए।

गुडिया पर्वले नेपालगन्जको सांस्कृतिक समृद्धिलाई उजागर गर्नुका साथै सामाजिक एकताको सन्देश पनि प्रवाह गरेको छ। यसलाई भावी पुस्तासम्म जीवित राख्न स्थानीय अवधी समाजले आफ्नो उपस्थिति देखिएको युवा नेता विनय चन्द्र गुप्ताले बताए ।

Leave a Comment

सम्बन्धित खबर