
काठमाडौं, ९ साउन २०८२ शुक्रबार – थाइल्याण्डको पटायामा सम्पन्न १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा विश्व कीर्तिमान स्थापित गरेका बाँके, नेपालगन्जका करण वाडियासहित नेपाली खेलाडीहरूलाई काठमाडौंमा सम्मान गरिएको छ।

जुलाई १६ देखि १९ सम्म भएको उक्त प्रतियोगितामा वाडियाले २२० किलो भार उठाएर विश्व कीर्तिमान राख्दै सिनियर ६० केजी तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ (हेक लिफ्ट) मा स्वर्ण र इन्क्लाइन बेन्च प्रेसमा रजत पदक जितेका थिए।
काठमाडौंको ठमेलस्थित नेपाल व्यायाम मन्दिर, नेपालको पहिलो जिम क्लबमा आयोजित सम्मान कार्यक्रममा नेपाल स्ट्रेन्थ लिफ्टिङ महासंघले वाडियासहित अन्य खेलाडीहरूलाई प्रमाणपत्र, खादा र माला प्रदान गरी सम्मान गरेको हो। कार्यक्रममा महासंघले नेपाल सरकारसँग खेलाडी र प्रशिक्षकको सम्मान तथा महासंघको उन्नतिका लागि ध्यानाकर्षण गराएको छ।
प्रतियोगितामा नेपालगन्ज-७, डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण र हेक लिफ्टमा कांस्य पदक जिते। यस्तै, नेपालगन्ज-२, घरबारी टोलका सन्तोष काजी शाक्यले ७६ केजी तौल समूहमा रजत पदक हासिल गरे। नेपालबाट सहभागी ९ जना खेलाडीले कुल १४ पदक (७ स्वर्ण, ५ रजत, २ कांस्य) जित्न सफल भएको महासंघले जनाएको छ।
सन् २०२१ मा काठमाडौंमा स्थापित नेपाल स्ट्रेन्थ लिफ्टिङ महासंघले खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको छ। महासंघले सरकारसँग थप सहयोग र सहकार्यको अपेक्षा गरेको छ। सम्मानित खेलाडीहरू स्वदेश फर्किसकेका छन्, र अब नेपाल सरकारले यिनीहरूलाई कहिले सम्मान गर्छ भन्ने विषयमा सर्वत्र चासो व्यक्त भएको छ।
