
नेपालगञ्ज, बाँके — ९ साउन २०८२

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा मङ्गल प्रसाद नमूना माध्यमिक विद्यालय नेपालगंज स्काउटका विद्यार्थीहरूले सडक दुर्घटना न्यूनिकरण तथा सडक प्रयोगलाई सुरक्षित र सहज बनाउने उद्देश्यले सात दिने जनचेतनामूलक सडक सुरक्षा अभियान सुरु गरेका छन ।अभियान अन्तर्गत नेपालगञ्जको धम्बोझी चोक, त्रिभुवन चोक, सिद्धार्थ चोक, बसपार्क लगायत विभिन्न प्रमुख चोकहरूमा विद्यार्थीहरूले सडक प्रयोगकर्तालाई नियम पालना गर्न अनुरोध गर्दै स्लोगन बोकेका प्लेकार्डहरू प्रदर्शन गरेका छन्।
कार्यक्रममा सहभागी एक स्काउट विद्यार्थीले भने, “सडक दुर्घटनाले धेरैको ज्यान गइरहेको छ। हामी जनचेतनाका माध्यमबाट मानिसलाई सचेत गराउन चाहन्छौं।”
यस अभियानले ट्राफिक नियमको पालन, हेलमेट अनिवार्यता, जेब्राक्रस प्रयोग, मोबाइल फोन प्रयोग नगर्ने लगायत विषयमा जनतालाई सचेत गराउने उद्देश्य राखेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्त ले अभियानको प्रशंसा गर्दै भने,
“यस किसिमका कार्यक्रमले दीर्घकालीन रूपमा नागरिक सचेतना बढाउँछ र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।”
अभियान आगामी सात दिनसम्म नेपालगञ्जका व्यस्त चोकहरूमा निरन्तर सञ्चालन हुनेछ।
