नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरद्वारा आमा सुरक्षा कार्यक्रम स्थगन

संवाददाता
संवाददाता

कोहलपुर, बाँके – लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले विगत २० वर्षदेखि निर्वाध रूपमा सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रम (सुत्केरी सेवा) २०८२ साउन १ गतेदेखि स्थगन गर्ने घोषणा गरेको छ। अस्पतालले कोहलपुर नगरपालिकासँग आर्थिक वर्ष २०८२/०८३ का लागि सम्झौता नवीकरण नभएको कारण उक्त सेवा प्रदान गर्न नसकिने जनाएको छ।

अस्पतालका निर्देशक प्रा.डा. रेशम बहादुर रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि कोहलपुर नगरपालिकासँग समन्वय गरी सम्झौताको अनुरोध गरिएको थियो, तर हालसम्म सम्झौता नभएकोले यो सेवा प्रदान गर्न असमर्थ भएका छौं।” विज्ञप्तिमा बिरामीहरूलाई पर्न गएको असुविधाप्रति व्यवस्थापनले दुख व्यक्त गरेको छ।

यद्यपि, अस्पतालले अर्को व्यवस्था नहुँदासम्म आमा सुरक्षा कार्यक्रमअन्तर्गत सेवा लिन चाहने सेवाग्राहीहरूलाई आवश्यक कागजात पेश गरेमा अस्पतालको नियमित दररेटमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ। साथै, सम्झौता भएपछि पूर्ववत् सहुलियत उपलब्ध हुने पनि उल्लेख गरिएको छ।

Leave a Comment

सम्बन्धित खबर