स्वास्थ्य बीमा बोर्डको निर्देशनः भेरी अस्पताल, नेपालगञ्ज प्रथम सेवा विन्दु र रिफरल सेन्टरको रूपमा सञ्चालन

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – स्वास्थ्य बीमा बोर्डले मिति २०८२ असार ३२ गते जारी गरेको पत्र संख्या: २०८१।०८२ च.नं १४८४ पत्रअनुसार श्री भेरी अस्पताल, नेपालगञ्ज, बाँके, लुम्बिनी प्रदेशलाई २०८२ असोज मसान्तसम्म प्रथम सेवा विन्दु र रिफरल सेन्टरको रूपमा सेवा प्रदान गर्न निर्देशन दिएको छ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूचीमा संघीय, विशेषज्ञ, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरू प्रथम सेवा विन्दु नभई रिफरल सेन्टरको रूपमा मात्र रहने व्यवस्था भए पनि बीमितहरूको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२।०३।३२, च.नं. २२८२ को पत्रअनुसार भेरी अस्पतालमा प्रथम सेवा विन्दुको वैकल्पिक व्यवस्था भएको छ। सोही पत्रमा प्रथम सेवा विन्दुको वैकल्पिक व्यवस्था एकिन गरी रिफरल सेन्टर कायम गर्ने विषय उल्लेख भएको छ।

स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा हस्ताक्षरित पत्रमा भेरी अस्पताललाई अस्थायी रूपमा प्रथम सेवा विन्दु र रिफरल सेन्टर दुवैको जिम्मेवारी प्रदान गरिएको हो। यो व्यवस्था २०८२ असोज मसान्तसम्म लागू हुनेछ।

पत्रमा लुम्बिनी प्रदेशको प्रदेश कार्यालय, स्वास्थ्य बीमा बोर्ड र बाँकेको जिल्ला सम्पर्क शाखा कार्यालयलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको छ।

यस व्यवस्थाले बाँके र आसपासका क्षेत्रका बीमितहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ।

Leave a Comment

सम्बन्धित खबर