नाकाबाट भारततर्फ तस्करी गरिएका चिनियाँ सामान बरामद

संवाददाता
संवाददाता

जिल्लाका विभिन्न सीमा नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्‍याइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले बरामद गरेको हो।

शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबी टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअपबाट ठूलो परिमाणमा उक्त सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएको चिनियाँ लसुन ६७ पोका अर्थात् करिब १ हजार २०६ किलोग्राम रहेको छ भने काँक्रोको बीउ ३ हजार ७२४ किलोग्राम फेला परेको छ।

तस्करीमा संलग्न दुई जना व्यक्ति र प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिई थप कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको भारतीय पक्षले जनाएको छ।

सीमावर्ती क्षेत्रमा यति ठूलो परिमाणमा तस्करीको सामान फेला पर्नुले सर्लाही नाका हुँदै हुने अवैध कारोबार अझै सक्रिय रहेको देखिएको छ। लामो समयदेखि सर्लाही जिल्ला तस्करीको प्रमुख मार्गका रूपमा चिनिँदै आएको छ।

स्रोत : Birganjcity

Leave a Comment

सम्बन्धित खबर