परम्परागत कला,महावरका दुई खूँटा – माइत र ससुराल जोड्ने प्रतीक

संवाददाता
संवाददाता

नेपालगन्ज, १० बैशाख – परम्परागत सोलह श्रृंगारमा महावर (अलता) लगाउने चलन अझै पनि तराई तिर नेपाली समाजमा जीवन्त छ । बाल्यकालदेखि नै महावरमा बन्ने ती दुई खूँटाले धेरैलाई आकर्षित गरिरहेको हुन्छ र मनमा कौतूहल जाग्छ – यी खूँटाबिना महावर किन अपूर्ण हुन्छ ?

लुम्बिनी प्रदेशकी बाके जिल्ला निवासी एकजना अत्यन्तै बुढी (पाको)उमेरकि तारामती नाउन काकी रङ लगाउन आएकी थिइन् । उनीसँग जिज्ञासा राख्दा उनी मुस्कुराउँदै उत्साहित भएर भन्न थालिन्, “बिटिया, यी दुई खूँटा माइत र ससुराल जोड्नका लागि बनाइन्छन् । हरेक महिलाले विवाहदेखि मृत्युसम्म यी दुवैलाई सन्तुलन कायम राखेर निभाउनुपर्छ ।”


काकीका अनुसार महावर लगाउँदा दिशाको विशेष ध्यान दिनुपर्छ । दक्षिण दिशातर्फ मुख गरेर महावर लगाउनु अशुभ मानिन्छ । महावरलाई सोलह श्रृंगारको महत्वपूर्ण अंग मानिन्छ । सुहागिन महिलालाई महावर लगाउँदा पुण्य मिल्ने र सौभाग्यवती बन्ने वरदान प्राप्त हुने विश्वास गरिन्छ । यसको रातो रङले अनुपम लावण्य र सुन्दरता थपिदिन्छ ।

विवाहअघि महावर पूरै लगाउन निषेध गरिन्छ । कन्या पूजन वा अन्य विशेष अवसरमा कन्याको महावर आवश्यक पर्दा आधा खुट्टामा मात्र लगाइन्छ र एडी छोडिन्छ । तर विवाहको समयमा नै पूरै महावर लगाउनु शुभ मानिन्छ । नाउन काकीले त पातलो सीक (सिक) ले अत्यन्तै सुन्दर कलाकारी गरिदिन्छिन्, जसले मेहन्दीमाथि महावरको खूबसूरती अझ बढाइदिन्छ ।

यस्तै दादी नानीका कलाहरूले हाम्रो संस्कृति, परम्परा र वैवाहिक जीवनको सन्तुलनको गहिरो सन्देश बोकेका छन् । आजको आधुनिक युगमा पनि यस्ता पुराना रीतिरिवाजहरूले नयाँ पुस्तालाई आफ्नो जडसँग जोडिरहेका छन् । (पू्र्खा ) बुजुर्गहरूको यस्तो ज्ञानले युवतीहरूलाई आफ्नो सौभाग्य र दायित्वप्रति सचेत गराउने गरेको छ ।

परम्परा जोगाउन र नयाँ पुस्तालाई सिकाउन स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा यस्ता कुराहरूलाई समावेश गर्नुपर्ने स्थानीय बुजुर्गहरूको सुझाव दिए ।

Leave a Comment

सम्बन्धित खबर