सिर्जना बुढामगर मृत्यु प्रकरणः सामग्री प्रहरीको प्रयोगशालामा, शव अझै अस्पतालमा

संवाददाता
संवाददाता

तेजेन्द्र के. सी.

बाँकेको नेपालगन्जमा चैत १४ गते राति जलेर मृत्यु भएकी सिर्जना बुढामगरको घटनामा प्रहरीले थप अनुसन्धानका लागि सामग्रीहरू काठमाडौंस्थित प्रहरी विधि प्रयोगशालामा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीका अनुसार मृतक सिर्जना र उनका प्रेमी आरिफ ढपालीको मोबाइल फोनलगायत सामग्री ल्याब परीक्षणका लागि पठाइएको हो । परीक्षण प्रतिवेदन आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीलाई आशा छ ।

बाँकेको नेपालगन्ज–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी सिर्जनाको शव हालसम्म पनि भेरी अस्पतालमै छ ।

मृतकका आफन्तले सिर्जनामाथि पेट्रोल छर्किएर हत्या गरिएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । यही कारण उनीहरूले अहिलेसम्म शव बुझ्न मानेका छैनन् । प्रहरीका अनुसार घटनाबारे हत्या वा अन्य कारण के हो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

डीएसपी पातलीले प्रमाण र तथ्यका आधारमा अनुसन्धान अगाडि बढाइएको र कुनै दबाब वा प्रभावमा नपर्ने स्पष्ट पारे । मृत्यु भएको १० दिन बितिसक्दा पनि आफन्तले न्यायको माग गर्दै शव बुझ्न अस्वीकार गरिरहेका छन् भने घटनाले स्थानीयस्तरमा चासो बढाएको छ ।

नेपालगन्जमा चैत १४ गते राति कोरियनपुरमा जलेको अवस्थामा सिर्जनाको शव भेटिएको थियो । प्रहरीले पक्राउ परेका अभियुक्तहरूमाथि तेस्रो पटक म्याद थप गर्ने तयारी गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १४ गते राति करिब १२ बजे आगोले जलेको अवस्थामा भेटिएकी सिर्जनालाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । तर चैत १५ गते बिहान १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टमा पेट्रोल छर्किएर जलाइएको उल्लेख गरिएको छ ।

नेपालगन्ज–८ रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जनाको शरीर उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब ५० मिटर टाढा भेटिएको थियो । प्रारम्भमा शवको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको थियो । मृतकका आफन्तहरूले सिर्जनाको हत्या प्रेमी आरिफले नै गरेको आरोप लगाएका छन् ।

उनीहरूबिचको सम्बन्ध लामो समयदेखि खटपटपूर्ण रहेको बताइएको छ । घटनाको अघिल्लो दिन पनि कुटपिट भएपछि प्रहरीले नियन्त्रणमा लिएर मिलापत्र गराएको थियो । तर सोही राति उक्त घटना भएको थियो ।
घटनापछि आक्रोशित आफन्तहरूले आरोपितको घरमा आक्रमण गर्ने प्रयाससमेत गरेका थिए । आफन्तले आरिफसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

घटनापछि भारत फरार भएका आरिफ पक्राउ परिसकेका छन् । उनीसँगै उनकी आमा, दिदी र एक नाबालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अन्य दुई फरार व्यक्तिको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

डीएसपी पातलीका अनुसार हालसम्म अभियुक्तको म्याद दुई पटक थप भइसकेको छ र चैत २७ गते तेस्रो पटक म्याद थपको तयारी भइरहेको छ । उनले भने, ‘पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान जारी छ ।अनुसन्धान पूरा भएपछि मात्रै विस्तृत तथ्य सार्वजनिक गर्न सकिन्छ ।’

प्रदेश सभादेखि सडकसम्म दोषीलाई कारबाही माग

सिर्जनाको मृत्यु प्रकरणले यतिबेला प्रदेशसभा र सडक दुवै तातेको छ । घटनालाई लिएर लुम्बिनी प्रदेश सभामा सांसदहरूले कडा रूपमा आवाज उठाएका छन् भने सर्वसाधारण र अधिकारकर्मीहरूले पनि दोषीमाथि कडा कारवाहीको माग गरिरहेका छन् ।

प्रदेश सभा बैठकमा सांसद सुशीला वादीले सिर्जनामाथि पेट्रोल छरेर जलाइएको घटनालाई अत्यन्तै जघन्य र अमानवीय भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले महिला हिंसा नियन्त्रणमा कुनै पनि किसिमको ढिलासुस्ती हुन नहुने बताउँदै दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिइन् ।

यसअघि बसेको बैठकमा पनि सांसदहरूले उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अम्बिका काफ्लेले यस्ता घटनालाई रोक्न कानुन संशोधन गरी अझ कडा सजायको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

उनले महिला हिंसा न्यूनीकरणका लागि मृत्युदण्डसम्मको कानुनी व्यवस्था आवश्यक भएको धारणा व्यक्त गरिन् ।

त्यसैगरी सांसद चन्द्रकेश गुप्ताले पनि यस्ता जघन्य अपराध रोक्न सरकार थप जिम्मेवार बन्नुपर्ने बताए ।

नेपालगन्जमा सिर्जनाका आफन्त,अधिकारकर्मी तथा स्थानीयले दोषीलाईकडा कारवाहीको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । उनीहरूले घटनामा संलग्न व्यक्ति सिर्जनाका प्रेमी रहेको दाबी गर्दै निष्पक्ष छानबिन र कठोर सजायको माग सार्वजनिक रूपमा उठाउँदै आएका छन् ।

स्रोत : रातोपाटी

Leave a Comment

सम्बन्धित खबर