कालिकोटको तिलागुफामा नि:शुल्क स्वास्थ्य शिविर: ४५० भन्दा बढी स्थानीय लाभान्वित

संवाददाता
संवाददाता

कालिकोटको तिलागुफा नगरपालिकामा फैलिएको भाइरल ज्वरो र विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल, कर्णाली प्रदेश ले एक बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ। पछिल्लो समय यस क्षेत्रका बासिन्दाहरूमा भाइरल ज्वरो, रुघाखोकी, जिउ दुख्ने, टाउको दुख्ने तथा पखाला र पेट दुख्ने जस्ता समस्याहरू व्यापक रूपमा देखिएपछि संघले स्थानीयलाई राहत पुर्‍याउने उद्देश्यले यो विशेष पहल गरेको हो।

यस स्वास्थ्य शिविरमा वरिष्ठ चिकित्सक डा. राम गोपाल तिवारीको विशेष उपस्थिति रहेको थियो, जसले बिरामीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श दिनुभएको थियो। स्वास्थ्य जाँचका क्रममा बिरामीहरूलाई रोगको प्रकृति अनुसार आवश्यक पर्ने औषधिहरू समेत पूर्ण रूपमा नि:शुल्क वितरण गरिएको छ। मौसमी संक्रमणका कारण धेरै स्थानीयहरू समस्यामा परेको अवस्थामा घरदैलोमै पुगेर दिइएको यो सेवाले समुदायमा ठूलो सहयोग पुगेको छ।शिविरमा तिलागुफा नगरपालिका वडा नम्बर ८ अन्तर्गतका विभिन्न बस्तीहरूबाट स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। विशेषगरी चाखाचौर, गुरुबाडा, चौखा बाडा, सत्य बाडा र ओखरभिट्टा लगायतका गाउँहरूका लगभग ४५० जना व्यक्तिहरूले यस स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ उठाएका छन्।

स्वास्थ्य सेवाको सहज पहुँच नभएका यी दुर्गम गाउँहरूमा संघले पुर्‍याएको यो मानवीय सहयोग र डाक्टर तिवारीको सक्रियतालाई स्थानीय बासिन्दाले निकै सराहना गरेका छन्।

स्रोत : संवाद ख्बर

Leave a Comment

सम्बन्धित खबर