चुनावमा ८० हजार सेना परिचालन हुने, सबै विमानस्थल र कारागार सुरक्षाको जिम्मा दिइँदै

संवाददाता
संवाददाता

फागुन २१ गते हुने निर्वाचनका लागि करिब ८० हजार सैनिक परिचालन गरिने भएको छ। निर्वाचन आयोगले मतदान केन्द्र टुंग्याएपछि सेनाले देशभर आफ्नो जनशक्ति परिचालनका लागि योजना तयार गरेको हो।

सांकेतिक तस्वीर

निर्वाचनमा आफ्नो कुल जनशक्तिको ९५ प्रतिशत अर्थात् करिब ८० हजार जना परिचालन गरिने नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। सेनाको स्वीकृत कुल दरबन्दी ९६ हजार हो।

अहिले सेनाले निर्वाचन क्षेत्रमा बेसहरू खडा गर्ने काम थालेको छ।

सांकेतिक तस्वीर

‘अहिले निर्वाचनपूर्वको कार्य भइरहेको छ। विभिन्न चरणमा तालिमहरू गर्ने, अन्य सुरक्षा निकायहरूसँग संयुक्त अभ्यास गर्ने, आफ्नो जिल्लाको योजना अनुसार समन्वय गर्ने काम भइरहेका छन्। फिल्डमा नखटिए पनि चुनावकेन्द्रित सुरक्षा योजनामा सेनाले काम गरिरहेको छ,’ प्रवक्ता बस्नेतले भने, ‘एकीकृत सुरक्षा योजना अनुसार नै हामी एक महिना पहिलेबाट मात्रै फिल्डमा खटिन्छौँ।’

निर्वाचनमा नेपाली सेनाले देशभरका विमानस्थलको सुरक्षा जिम्मा लिनेछ। यस्तै कारागारको जिम्मा पनि सेनाकै हुनेछ। अहिले यी स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ।

सांकेतिक तस्वीर

दुवै प्रहरीका जनशक्तिलाई चुनावमा खटाउनका लागि पनि सेनालाई जिम्मेवारी हस्तान्तरण गरिनेछ। यसका लागि समन्वयको काम सेनाले गरिरहेको छ।

यस्तै प्रतिष्ठान लगायतको सुरक्षामा खटिएको प्रहरी जनशक्ति पनि चुनावकेन्द्रित हुनेछ र यी स्थानको जिम्मा पनि सेनाले एक महिना पहिलेबाट लिनेछ। निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिले पहिल्यै स्वीकृति दिइसकेका छन्। तीन महिनापहिले नै स्वीकृति पाएसँगै सेना पनि तयारीमा लागेको हो।

सांकेतिक तस्वीर

निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी पनि ५ वटा प्रदेशमा सम्पन्न भइसकेको छ। अब मधेस र बागमतीमा सुरक्षा गोष्ठी हुन बाँकी छ। सुरक्षा गोष्ठीमा नेपाली सेना र प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरू सहभागी भएका छन्।

एकीकृत सुरक्षा योजना अनुसार आगामी निर्वाचनमा पनि यसअघि जस्तै सेना तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ। सेनाको भूमिका कहिले पनि परिवर्तन नभएको तर परिस्थिति अनुसार सुरक्षा व्यवस्था मिलाउने जिम्मा सेनासँगै सबै सुरक्षा निकायको हुने प्रवक्ता बस्नेतले बताए।

सेनाले निर्वाचनको एक महिना पहिले नै बेसहरू स्थापना गरिसक्नेछ। ती बेसमा रहेर सेनाले एक महिना पहिलेबाटै निर्वाचन केन्द्रित सुरक्षा प्रदान गर्न थाल्नेछ। कुनै जिल्लामा आवश्यकता भन्दा जनशक्ति कम भए अन्य जिल्लाबाट माग गरिनेछ।

हरेक जिल्लाले आफ्नो जिल्लामा कति सैनिक जनशक्ति आवश्यक पर्ने भन्ने योजना बनाइसकेका छन्। सोही अनुसार जिल्लाका गणहरूले बाहिनीमा रिपोर्ट गर्नेछन्। कुनै जिल्लामा जनशक्ति अपुग भए अन्यत्रबाट पठाउने र बढी भए कम भएका जिल्लामा पठाइनेछ। बाहिनीले आफ्नो क्षेत्रबाटै जनशक्ति व्यवस्थापन गर्न सके गर्ने र त्यहाँबाट पनि व्यवस्थापन हुन नसकेको खण्डमा पृतनामा जानकारी गराउनेछ।

हरेक पृतनाले आफ्नो क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनेछन्।

निर्वाचन आयोगले शुक्रबारदेखि मतदाताको नामावली छाप्न थालेको छ। यस्तै दलहरूले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेका छन्। निर्वाचन आयोगले यसलाई रुजु गरिरहेको छ। केही नमिलेको भए आयोगले त्यसलाई सच्याएर ल्याउन समय दिनेछ। समानुपातिकतर्फ ६४ दलले ५८ वटा चुनाव चिन्हमा भाग लिने भएका छन्।

स्रोत : नेपालखबर

Leave a Comment

सम्बन्धित खबर