
बहराइच (उत्तर प्रदेश), भारत : भारत-नेपाल सीमा क्षेत्रमा सक्रिय मोटरसाइकल चोरी तथा तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई उत्तर प्रदेशको रुपईडिहा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १६ वटा चोरीका मोटरसाइकल बरामद गर्दै गिरोहका तीन जना सदस्यलाई गिरफ्तार गरेको जनाएको छ ।


रुपईडिहा थाना प्रभारी निरीक्षक रमेश सिंह रावतका अनुसार, शुक्रवार साँझ पचपकडी तिराहामा चेकिङका क्रममा नम्बर प्लेट नभएका दुई मोटरसाइकलमा सवार तीन जना शंकास्पद व्यक्तिलाई रोकेर सोधपुछ गरिएको थियो । उनीहरूले मोटरसाइकल चोरी गरेर नेपाल ल्याई बेच्ने गरेको स्वीकार गरेका थिए ।
तीनै जनाको बयानका आधारमा चकिया जंगल क्षेत्रबाट थप १४ वटा चोरीका मोटरसाइकल बरामद गरियो । बरामद मोटरसाइकलमध्ये केहीमा भारतीय नम्बर प्लेट फालेर नेपाली नम्बर प्लेट जडान गरिएको थियो ।

गिरफ्तार हुनेहरूमा देहातकोट (गोण्डा) मूलका तर हाल नेपालगञ्ज बस्ने जावेद हलवाई (मोहम्मद याकूबका छोरा), बुलन्दशहर (उत्तर प्रदेश) का सुहैल (इस्लामका छोरा) र नेपालगञ्ज (नेपाल) का कमरुद्दीन शाही (खलिल शाहीका छोरा) रहेका छन् ।

प्रहरी अनुसन्धानबाट खुलासा भएअनुसार यो गिरोहले बहराइच, गोण्डा लगायत भारतका विभिन्न जिल्लाबाट मोटरसाइकल चोरी गरी सीमान्त जंगलमा लुकाउने र उपयुक्त समयमा नेपालमा महँगो मूल्यमा बिक्री गर्ने गर्दथ्यो । बरामद मोटरसाइकलहरू विभिन्न थानामा चोरीका मुद्दामा दर्ता भएको पाइएको छ ।
गिरफ्तार अभियुक्तहरूमाथि भारतीय दण्ड संहिता (बीएनएस) का सम्बन्धित दफाअन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ ।





