
नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै मंगलबार प्रस्ताव पेस हुने भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षार मंगलबार केन्द्रीय समिति बैठकअघि दर्ता गर्ने तयारी भएको नेता मधु आचार्यले जानकारी दिए।

महामन्त्री थापानिकट केन्द्रीय सदस्य आचार्यले नेपालखबरसँग भने, ‘भोलि केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। त्यो बैठकअघि विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरसहितको निवेदन हामी दर्ता गर्छौँ।’
सोमबार दिउँसो साढे २ बजेसम्म ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको आचार्यको भनाइ छ।
असोज २४ गते नै उक्त प्रस्ताव दर्ता गर्ने भनिएकोमा केन्द्रीय समिति बैठक पनि सरेको र कार्यसम्पादन समिति बैठक पनि लम्बिएकोले भोलिका लागि मिति तय भएको उनले बताए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको विषय चर्कोरुपमा उठेको छ। खासगरी महामन्त्रीहरूले सभापति शेरबहादुर देउवाको बिदा अविलम्ब भएको भन्दै विशेष महाधिवेशनको माग गरेका हुन्।
स्रोत : नेपालखबर
