भारतमा साइबर ठगी गिरोहका एक नेपालीसहित १० सदस्य पक्राउ, कम्बोडियासँग ‘कनेक्सन’

संवाददाता
संवाददाता

काठमाडौँ । भारतमा साइबर ठगी गिरोहका १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली नागरिक छन् भने बाँकी भारतीय हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका गिरोहले करोडौँ भारतीय रुपैयाँ बराबरको ठगी गरेको छ । उनीहरू कम्बोडियाबाट सञ्चालित रहेको भारतीय प्रहरीको दाबी छ ।

मानिसहरूलाई टेलिग्राम ग्रुपमा जोडेर लगानीका लागि विभिन्न प्रलोभन देखाउने र लगानी गर्न लगाएर रकम ठगी गर्न उक्त गिरोह सक्रिय हुँदै आएको बताइएको छ ।

पक्राउ परेकाहरूले आफ्नो खातामा रकम जम्मा गर्न लगाउने र यसरी आएको रकम कम्बोडिया पठाउने गरेको भारतीय प्रहरीको भनाइ छ । यसरी पठाएको रकमको २० प्रतिशत उनीहरूले पाउने गरेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हरियाणाको पलवल, मानपुर निवासी हर्षकुमारले साइबर थानामा उजुरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा नेपाल–भारत सीमा क्षेत्र नजिकै जोगबनीबाट दुई दिनअघि १० जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने १० जनामध्ये विजय उपाध्याय नाम गरेका नेपाली नागरिक पनि छन् । उनको ठेगाना खुलाइएको छैन ।

स्रोत : रातोपाटी

Leave a Comment

सम्बन्धित खबर