नागपञ्चमीको दिन अवधी समाजमा ‘गुडिया’ पर्वको रौनक

संवाददाता
संवाददाता

१२ साउन २०८२ सोमबार

नागपञ्चमी” गुडिया” पर्व यो वर्ष १३ साउन २०८२ ( 29 jul 2025) मंगलवारको दिन मनाइनेछ।

नाग पञ्चमी हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जुन सावन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। यो पर्व विशेषगरी नाग देवताको पूजासँग सम्बन्धित छ र भारत तथा नेपालमा व्यापक रूपमा मनाइन्छ।

नाग पञ्चमी भारत र नेपालका विभिन्न भागहरूमा मनाइन्छ। भारतमा, विशेषगरी उत्तर प्रदेश, बिहार, राजस्थान, कर्नाटकजस्ता स्थानहरूमा यो पर्व धुमधामले मनाइन्छ, जहाँ गुडिया पिट्ने परम्परा पनि प्रचलित छ। नेपालमा, यो पर्व राष्ट्रिय रूपमा मनाइन्छ, जसमा काठमाडौँ, भक्तपुर, ललितपुर र नेपालगञ्जजस्ता स्थानहरूमा धूमघामले मनाइने गरिन्छ ।

यसैगरी पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समाजले साउन शुक्लपक्ष नागपञ्चमीमा ‘गुडिया’ पर्वलाई विशेष उत्साहका साथ मनाउने गरेका छन्। यो पर्व अवधी समाजको प्रमुख सांस्कृतिक पर्वका रूपमा परिचित छ। यस पर्वलाई पर्वहरुको द्वार ( ढोका ) पनि भनिन्छ । किनकि वर्ष दिनको पर्वहरु यसै पर्वबाट सुरुवात हुनेगर्छ ।

नाग पञ्चमीका दिन अवधी समाजमा घरपरिवार, आफन्त र छिमेकीहरू एकजुट भई धुमधामका साथ यो पर्व मनाइन्छ। बिहानै गाउँका अगुवाहरूले नुहाएर घर वरिपरि गाईको गोबरले चिन्हो तानेर ‘गोबर चक्र’ बनाउँछन्, जसले सर्पलाई घरमा प्रवेश गर्नबाट रोक्ने धार्मिक विश्वास छ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) गाउँ नजिकको थान देउता र नाग देउतामा चढाइन्छ। घरको ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने परम्परा पनि छ। यो दिन हरेक घरमा चनाको घुघरी, पुरी, तरकारी, खिर, अचार र गुल्गुलाजस्ता परिकार बनाइन्छ। विवाहित छोरीलाई चना, चामल, भेली मिठाइँ र कपडासहितको गठरी पठाउने चलन रहेको वरिष्ठ अवधि सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णु लाल कुमालले बताए।

पर्वमा छोरीलाई माइती बोलाउने वा लिन जाने प्रचलन छ। गाउँटोलमा पिङ हाल्ने, युवायुवतीले गीतसंगीत गाउँदै पिङ खेल्ने र साँझ कपडाको गुडिया बनाएर भुइँमा राखी लठ्ठीले पिट्ने परम्परा छ। अवधि अगुवा पण्डित शिवप्रसाद पाठकका अनुसार, यो पर्वमा मिठा परिकार पकाएर पाहुनालाई सत्कार गरिन्छ। उनले भने, “यो पर्व आदि कालदेखि चलिआएको छ। हामी प्रकृतिका हरेक तत्त्व– सूर्य, चन्द्रमा, नदी, सर्प, वनजंगललाई देउताको रूपमा पूजा गर्छौं।”

स्वास्थ्यको दृष्टिकोणले, बर्सातमा कामको बोझले कमजोर भएको शरीरलाई चनाको घुघरीजस्ता पोषिलो खानाले बलियो बनाउने परम्परा छ। अवधी उखानअनुसार, “चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है।” भन्ने गरिएको बताए ।

धार्मिक विश्वासअनुसार, भगवान कृष्णले नागलाई नाथेपछि जमुना नदीको पानी सफा भएको थियो। सर्पलाई शत्रु नभई खेतबारीका हानिकारक जीवजन्तु खाने मित्रका रूपमा लिइन्छ। यस दिन सपेराहरू घरघरमा सर्प देखाएर सिधा लिने चलन पनि छ।

यो पर्वले अवधी समाजको सांस्कृतिक पहिचान, एकता र धार्मिक आस्थालाई जीवन्त राखेको अवधि सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णु लाल कुमालले बताए।।

Leave a Comment

सम्बन्धित खबर