
नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम मतपरिणामहरू आइरहँदा मधेस प्रदेशको राजनीतिक परिदृश्यमा ठुलो उथलपुथल देखिएको छ । २०६३–०६४ को मधेस जनविद्रोहबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका मधेस केन्द्रित दलहरू हालै सम्पन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पूर्ण रूपमा पराजित भएका छन् ।

मधेस केन्द्रित दलहरूले मधेसका ३२ सिटमध्ये एक पनि जित्न नसकेको अवस्था छ । अर्कोतर्फ “अमकी बार, बालेन सरकार” मूल नारासहित प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३० भन्दा बढी सिट कब्जा गर्दै ऐतिहासिक विजय हासिल गरेको छ । निर्वाचन आयोगका प्रारम्भिक परिणामहरूले मधेसवादी दलहरूलाई राष्ट्रिय पार्टीको मान्यता पनि गुम्ने सङ्केत गरेका छन् ।
मधेस आन्दोलनका प्रमुख नेताहरूले आफ्नै गृह जिल्लामा करारी हार बेहोरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका संयोजक उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालका नेता शरतसिंह भण्डारी, राजकिशोर यादव र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो जस्ता शीर्ष व्यक्तित्वहरूले मतदाताको विश्वास गुमाउँदै आफ्ना आफन्तहरूसँग पनि प्रतिस्पर्धामा पछि परेका छन् ।
राजनीतिक विश्लेषकहरू नतिजालाई निर्वाचन मात्र नभई मधेसको सामाजिक–राजनीतिक मनोविज्ञानमा आएको गहिरो परिवर्तनको रूपमा व्याख्या गरेका छन् । भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ र युवा पुस्ताको असन्तुष्टिले मतदातालाई नयाँ विकल्पतर्फ आकर्षित गरेको उनीहरूको मत छ ।
इन्जिनियर मनोज कुमार महतोले निर्वाचन पश्चात् देखिएको परिवर्तनलाई मधेसवासीहरूको ‘मौन विद्रोह’ को रूपमा चित्रण गरेका छन् । “मधेसवादी दलहरूले २०६४ यता मधेसी जनतालाई आफ्नै ‘भाइभरदार’ ठानेर भोट लिइरहे, तर उनीहरूका पीडा र आवाजलाई बेवास्ता गरे । अहिले मधेसीहरूले ‘म पनि मान्छे हुँ’ भन्ने सन्देश दिँदै बालेन शाहको पक्षमा मत दिएका छन्,” उनले भने ।
त्यस्तै विश्लेषक डा. विजय कुमार मिश्रका अनुसार, मधेस केन्द्रित दलहरूको स्वार्थ केन्द्रित एकीकरण–विभाजन र सत्ताको लोभले उनीहरूलाई कमजोर बनाएको छ । “उनीहरूले भोट लिएर सत्ता र शक्तिमा मात्र ध्यान दिए, विकास र सरुवा–बढुवामा घुस–कमिसन चलाए । मधेसवासीहरूमा उकुसमुकुस थियो, जसलाई रास्वपाको ‘घण्टी’ ले आवाज दियो,” उनले भने ।
प्रोफेसर सन्त सत्यनारायण आलोकले “अमकी बार, बालेन सरकार” नाराको प्रभावलाई युवा मतदातामा व्यापक बताउँदै भने, “परम्परागत दलहरू आन्तरिक कलह र स्पष्ट एजेन्डाको अभावमा अल्झिए । मधेसवादीहरू पनि एकीकरणको चर्चामै सीमित रहे । यसैबिच, रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने घोषणासहित मधेसमा प्रवेश गर्दा सुनामी जस्तो नतिजा आयो ।” उनका अनुसार, मधेसवासीहरूले उपेन्द्र यादव, महन्त ठाकुर, सिके राउत जस्ता नेताहरूभन्दा ‘मधेसका बेटा’ बालेनलाई विकल्पका रूपमा रोजेका छन् । मतदाताले बालेनद्वारा काठमाडौँमा गरिएको कामबाट प्रभावित भएका छन् ।
यद्यपि, मधेसवादी दलहरूले हारलाई अस्थायी ठानेका छन् । जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झाले आफूहरूले चुनाव हारे पनि एजेन्डा र सङ्गठन जीवित रहेको बताए । “मधेसवासीहरूले रास्वपालाई संविधान संशोधन जस्ता मुद्दा पूरा गराउन मत दिएका छन् । अब हामी सरकारलाई खबरदारी गर्छौँ,” उनले भने । उनले मधेसका धेरै सिटमा मधेस केन्द्रित दलहरूको मत अन्य पुराना दलहरूभन्दा अगाडि रहेको विश्लेषण गर्दै जनताको बिचमा अझै पनि मधेस केन्द्रित दल प्रतिको विश्वास कायम रहेको तर्क गरे ।
निर्वाचन नतिजाले मधेसको राजनीतिक नक्सालाई नयाँ रूप दिएको छ । समानुपातिक मतमा पनि रास्वपाको अग्रता देखिएको छ । परिणामले सङ्घीय र प्रदेश स्तरमा नयाँ समीकरण निर्माण गर्ने सङ्केत गर्दछ । दुई दशकदेखि प्रभावशाली रहेका मधेस केन्द्रित दलहरूको कमजोर अवस्थाले मधेसको इतिहासमा ठुलो मोड ल्याएको छ ।
स्रोत : यात्राडेली
