
पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार साँझ भएको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको सद्भाव संयन्त्रको बैठकले तीन बुँदे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने र जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाएको छ।


१. दोषीमाथि कडा कानूनी कारबाही
श्रीपुरमा फागुन १० गते बेलुकी भएको घटना र त्यसबाट सिर्जित परिस्थितिका दोषी पक्षलाई स्थानीय प्रशासनले तत्काल कानूनी दायरामा ल्याउने निर्णय गरेको छ। यसका लागि पीडित पक्षबाट जाहेरी लिएर आवश्यक प्रक्रिया यथाशीघ्र सम्पन्न गरिनेछ। साथै, दोषीलाई कानूनी कठघरामा उभ्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको छ।
२. सामाजिक सञ्जालमा ‘हेट स्पीच’ फैलाउनेलाई साइबर कानून
कुनै पनि व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने वा सामाजिक सञ्जालमा भाइरल बनाउने कार्यलाई प्रशासनले गम्भीरतापूर्वक लिएको छ। ‘हेट स्पीच’ (Hate Speech) वा घृणा फैलाउने सामग्री प्रसारण गर्ने जोकोहीलाई साइबर कानून तथा प्रचलित कानून बमोजिम तत्काल कारबाही गरिने बैठकले निर्णय गरेको छ।
३. सद्भावका लागि सामूहिक प्रतिबद्धता
आगामी दिनमा जिल्लामा धार्मिक र सामाजिक सद्भाव कायम राख्न बैठकमा सहभागी नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था वा निकायको तर्फबाट आधिकारिक विज्ञप्ति जारी गरी शान्तिको अपिल गर्ने निर्णय भएको छ।

