
नेपालगञ्ज, साउन ३०, २०८२ – नेपालगञ्जको त्रिभुवन चोकस्थित श्रीकृष्ण जन्मोत्सव समितिको आयोजनामा आगामी सांस्कृतिक कार्यक्रमहरूको तयारीका लागि कार्यवाहक अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। उक्त बैठकमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना र व्यवस्थापनका लागि महत्त्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको छ।

छलफल बैठकमा समितिका उपाध्यक्ष जितेन्द्र कुमार सिंह, महिला उपाध्यक्ष रमारानी बैश्य, सचिव डा. राजेन्द्र कुमार गुप्ता, प्रचारप्रसार समिति संयोजक शैलेन्द्र कुमार बैश्य, कोषाध्यक्ष नन्दकिशोर बैश्य, सदस्यहरू वृजेश बहादुर सिंह, हंसराम साहू, रामकुमार बैश्य, विमला बैश्य, संगीता बैश्य, सल्लाहकार समितिका कृष्णकुमार बैश्य, सुरेशकुमार गोयल, हंसराज लखेर, ध्रुवकुमार बैश्य, पदेन सदस्यहरू कसौंधन बैश्य समाज नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा समितिको कार्यालय अध्यक्ष, चेतना फोटो ग्राफी नेपालगञ्जका सुरजलाल बैश्य र विशेष आमन्त्रित अतिथि Asia TV Nepal का नन्दलाल साहूको उपस्थिति रहेको थियो।
बैठकमा प्रमुख निर्णयहरू गरिएको छ, जस्तै
१ – बालबालिकालाई समावेश गरी निर्णायक समिति गठन: कार्यक्रमलाई निरन्तरता दिन र बालबालिकाको सहभागिता सुनिश्चित गर्न एक निर्णायक समिति गठन गर्ने निर्णय गरिएको छ।
२ – पारदर्शिता र सक्रिय सहभागिता: समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई पारदर्शी रूपमा सक्रिय सहभागिता जनाउँदै अनिवार्य उपस्थित हुनुपर्ने निर्णय गरिएको छ।
३ – सांस्कृतिक संयोजक नियुक्ति: स्थानीय संगीतकार सुरजलाल बैश्यलाई सांस्कृतिक संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
४ – सहयोग र समन्वयमा जोड: सम्पूर्ण पदाधिकारी र कार्यसमितिलाई एकआपसमा सहयोग र समन्वयको भावनाका साथ जिम्मेवारीपूर्वक कार्यक्रमलाई भव्य र सफल बनाउन प्राथमिकता दिने निर्णय पारित गरिएको छ।
श्रीकृष्ण जन्मोत्सव समितिले आगामी सांस्कृतिक कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न आयोजनाहरूको तयारी तीव्र बनाएको छ। समितिका अध्यक्ष नन्दलाल बैश्यले सम्पूर्ण समुदायलाई सहयोग र सक्रिय सहभागिताको लागि आह्वान गर्नुभएको छ।
बैठकले नेपालगञ्जमा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दै सामुदायिक एकताको सन्देश प्रवाह गरेको छ। कार्यक्रमको थप विवरण चाँडै सार्वजनिक गरिने समितिले जनाएको छ।
