मित्र राष्ट्र भारत,उत्तर प्रदेशको रुपईडीहामा भव्य तिरंगा यात्रा, देशभक्तिको रंगमा रंगियो नगर

संवाददाता
संवाददाता

अन्तर्राष्ट्रिय / सन्तोष शुक्ल  / रुपईडीहा 

नेपालगन्ज / रुपईडीहा (बहराइच), ३१ साउन २०८२। स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतको उत्तर प्रदेशस्थित रुपईडीहा नगर पञ्चायतमा देशभक्तिको अद्भुत उत्साह देखियो। नगर पञ्चायत अध्यक्ष डा. उमाशंकर वैश्यको नेतृत्वमा बिहीबार भव्य तिरंगा यात्राको आयोजना गरियो, जसमा नगरका विभिन्न मार्गमा जनसागर उर्लियो। यात्रा नगर पञ्चायत कार्यालयबाट सुरु भएको थियो, जहाँ सयौँ स्थानीयवासीले हातमा तिरंगा बोकेर राष्ट्रिय गानको धुनमा यात्रा प्रारम्भ गरेका थिए ।

यात्रा मुख्य बजार, स्टेशन रोड, चौक, सब्जी मण्डी, रामजानकी नगरलगायत नगरका प्रमुख मार्ग हुँदै अघि बढ्यो। यात्राभरि ‘भारत माता की जय’, ‘वन्दे मातरम्’ र ‘जय हिन्द’ को जयघोषले वातावरण देशभक्तिको रंगमा रंगियो। देशभक्ति गीतको धुन र तिरंगाको लहरले नगरवासीलाई मन्त्रमुग्ध बनायो। कार्यक्रमको अध्यक्षता नगर पञ्चायतका कार्यकारी अधिकारी राम बदनले गरे। डा. उमाशंकर वैश्यले तिरंगा सम्मान र गर्वको प्रतीक भएको बताउँदै यस्ता आयोजनले नयाँ पुस्तामा देशभक्तिको भावना बलियो बनाउने उल्लेख गरे। यो आयोजनले देशभक्तिको प्रतीक बन्नुका साथै स्वतन्त्रता संग्रामका बलिदानलाई पनि स्मरण गरिएको थियो ।

यस अवसरमा रुपईडीहा पत्रकार संघका पदाधिकारी, नगर पञ्चायतका सबै सभासद, कर्मचारी र ठूलो संख्यामा स्थानीयवासी उपस्थित थिए। तिरंगा यात्रामार्फत एकता, भाइचारा र देशको अखण्डताको सन्देश प्रवाह गरिएको थियो ।

 

यसैगरी आजै विद्यालयबाट पनि तिरंगा यात्रा निकालिएको थियो । स्वतन्त्रता दिवसको अवसरमा बिहान आचार्य रमेश चन्द्र गर्ल्स इन्टर कलेज र श्री रामजानकी इन्टर कलेजको संयुक्त आयोजनामा विशाल तिरंगा यात्रा निकालियो। यात्राको शुभारम्भ सुधीर शर्मा, राम निरञ्जन, ऋतुराज र आशीष त्रिपाठीले गरे। आयोजनमा प्राचार्या आशा बिष्ट र डाइरेक्टर यशपालको प्रमुख योगदान रह्यो। ठूलो संख्यामा विद्यार्थीले तिरंगा बोकेर ‘भारत माता की जय’ र ‘हिन्दुस्तान जिन्दाबाद’ जस्ता नारा लगाएका थिए ।

विद्यार्थीहरूले सुभाषचन्द्र बोस, महात्मा गान्धी, नरेन्द्र मोदी, योगी आदित्यनाथ, भगवान श्रीकृष्ण र शिवशंकरको वेशभूषा धारण गरेका थिए। यात्रा विद्यालयबाट सुरु भई एसएसबी क्याम्प हुँदै पुनः विद्यालयमा आएर समापन भयो। यात्रा सञ्चालनमा सबै शिक्षक–शिक्षिकाको महत्वपूर्ण योगदान रह्यो। चन्द्र प्रकाश त्रिपाठी, अतुल पाठक, चन्द्रभान मिश्रा, आर. यस. वर्मा, साकेत तिवारी, चन्दन गुप्ता, विवेक, प्रिया, पूजा, लक्ष्मी, पुनीत र अरुण शर्माले सहयोग गरे।

यात्रामा भारत माताको भूमिकामा जानवी, राष्ट्रपतिको भूमिकामा आशिका वर्मा, कन्हाको भूमिकामा ऋषिका, शंकरको भूमिकामा पलक, मोदीको भूमिकामा मीनू, योगीको भूमिकामा नन्दनी, लक्ष्मी बाईको भूमिकामा राफिया, जवाहरलाल नेहरूको भूमिकामा साक्षी र रामजानकी इन्टर कलेजका एनसीसी क्याडेटहरू शिवम, पवन, कुश मौर्यलगायत विद्यार्थीको महत्वपूर्ण योगदान रह्यो।

Leave a Comment

सम्बन्धित खबर