हातहतियारसहित बाँकेको नेपालगञ्जबाट पाँच जना पक्राउ

संवाददाता
संवाददाता

मेराज सलमानी

बाँके, नेपालगञ्ज — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ मा रहेको एक होटलमा आइतबार बिहान करिब २:३० बजे भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकाहरूले होटलमा कफी खाने क्रममा केही व्यक्तिमाथि कुटपिट गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–४ का २२ वर्षीय नवीन बुढा, वडा नम्बर २ का २२ वर्षीय सौरभ खड्का, वडा नम्बर १८ का १९ वर्षीय सन्देश खड्का, २१ वर्षीय कुञ्जन रोकाया र खजुरा गाउँपालिका–१ का २० वर्षीय सार्थक डाँगी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले पक्राउ परेकाहरूको साथबाट १ थान चक्कु, १ थान खुँडा, २ थान नक्कली पेस्तोल (एयरगन) र १० राउण्ड रबरको गोली बरामद भएको जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर र कुटपिटको आरोपमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र बरामद सामग्रीका आधारमा यो घटना आपराधिक गतिविधिसँग जोडिएको हुन सक्ने आशंका गरेको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखी मुलुकी अपराध संहिता ऐन, २०७४ को हातहतियार सम्बन्धी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाले नेपालगञ्ज क्षेत्रमा अवैध हातहतियारको प्रयोग र युवाहरूमाझ बढ्दो आपराधिक प्रवृत्तिप्रति स्थानीयमा चिन्ता बढाएको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न विशेष निगरानी र चेकजाँचलाई तीव्रता दिने बताएको छ।

Leave a Comment

सम्बन्धित खबर