
जाजरकोट, साउन २६, २०८२ – जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा सोमबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार रुकुम पश्चिमको उदय युवा क्लब, मुसीकोट–१३ को नाममा दर्ता भे १ च २२४७ नम्बरको एम्बुलेन्स बिरामी लिन डौंरीकाँडा जाँदै गर्दा उकालो सडकमा भित्तामा ठोक्किएर करिब १०० मिटर तल खसेको थियो। दुर्घटना सोमबार बिहान करिब १ बजे भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
स्थानीय वडा अध्यक्ष दीपक रानाले बिहान ८ बजे प्रहरीलाई घटनाको जानकारी गराएका थिए। जानकारी प्राप्त भएलगत्तै अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाको नेतृत्वमा इलाका प्रहरी पोष्ट रावतगाउँबाट पाँच जनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अर्को टोली पनि खटिएको छ।
घटनास्थल इलाका प्रहरी पोष्ट रावतगाउँबाट करिब २ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट १२ किलोमिटर उत्तरपूर्वमा पर्छ। प्रहरीका अनुसार एम्बुलेन्स भीत्री कच्ची सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो। चालक चनाराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले बताए। उकालो बाटो र कच्ची सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। यो घटनाले स्थानीय सडकको अवस्था र एम्बुलेन्स सञ्चालनमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
