
बाँके, नेपालगन्ज । साउन महिनाको अन्तिम सोमबार बागेश्वरी माता मन्दिर परिसरमा रहेको तलाउ, खड्गेश्वर, जुँगेश्वर महादेवलगायत देशभरका शिवालयहरूमा पूजा–आजा र दर्शन गर्न भक्तजनको ठूलो भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवसँग जोडिएको विशेष समय मानिने भएकाले बिहानैदेखि स्नान गरी शिवालय पुग्ने भक्तजनको घुइँचो देखिएको हो।


आज अन्तिम सोमबारको दिन भक्तजनहरुले जुँगेश्वर महादेवमा जल, दूध, बेलपत्र र फूल चढाएर पूजा–आजा गरेका छन्। बिहानैदेखि मन्दिर परिसरमा लामबद्ध भक्तजनको उपस्थितिले धार्मिक उत्साह र भक्ति भावको वातावरण सिर्जना भएको छ। स्थानीय प्रशासनले मन्दिरमा सहज र सुरक्षित दर्शनका लागि आवश्यक व्यवस्था गरेको जनाइएको छ।

साउन महिनालाई शिव भक्तहरूले विशेष पवित्र महिनाको रूपमा लिने गर्छन्। यो अवसरमा शिवालयहरूमा विशेष पूजा, रुद्राभिषेक र अन्य धार्मिक अनुष्ठानहरू पनि आयोजना हुने गर्छन्। बागेश्वरी मन्दिरमा आजको दिन विशेषगरी युवा, महिला र वृद्धवृद्धाको उल्लेख्य सहभागिता रहेको स्थानीय शिव भक्त दिनेश यादवले बताए।

“साउनको सोमबार भगवान् शिवको कृपा प्राप्त गर्न विशेष मानिन्छ। यहाँ आउँदा मनमा शान्ति र आनन्द प्राप्त हुन्छ,” भक्त प्रेम कश्यपले भने। मन्दिर व्यवस्थापन समितिका अनुसार, साउन महिनाभरि नै बागेश्वरी मन्दिरमा भक्तजनको भीड बढ्दै गएको छ।

