नेपाल प्रेस युनियन बाँकेले तीज विशेष कार्यक्रम र सदस्यता अभियान सञ्चालन गर्ने

संवाददाता
संवाददाता

नेपालगन्ज, १७ साउन २०८२ । नेपाल प्रेस युनियन बाँकेले हरितालिका तीजको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । शनिबार शाखा अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा बसेको बैठकले तीज विशेष कार्यक्रम र सय दिने सदस्यता अभियान सञ्चालन गर्ने दुईवटा महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले भाद्र ६ गते शुक्रबार तीज विशेष कार्यक्रमअन्तर्गत ‘तीज मिलन तथा लेखनवृत्ति प्रतियोगिता’ आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रमलाई भव्य बनाउन उपाध्यक्ष निशा शाहको संयोजकत्वमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु रहेको ६ सदस्यीय समिति गठन गरिएको छ ।

यस्तै, तीज विशेषाङ्क युनियन बुलेटिन र लेखनवृत्ति प्रतियोगिताका लागि सचिव लोधको संयोजकत्वमा खडक खत्री, शुकराम चिडिमार, अभिषेक गुप्ता र प्रेम सिंह एसके रहेको ५ सदस्यीय समिति गठन भएको छ । तीजको मौलिकता र महिला पत्रकारहरूले लेखेका उत्कृष्ट लेख तथा फिचर स्टोरीलाई पुरस्कृत गरिने छ । सहभागीले आफ्ना लेख साउन ३० गतेभित्र npu.banke@gmail.com मा पठाउनुपर्ने सचिव लोधले बताए ।

यसैगरी, कार्यक्रमको मूल्याङ्कनका लागि अग्रज पत्रकार निरज कुमार गौतमको संयोजकत्वमा कमल खत्री र किरण आचार्य रहेको ३ सदस्यीय समिति गठन गरिएको छ ।

दोस्रो निर्णयअनुसार, युनियन केन्द्रको निर्देशनबमोजिम बाँके शाखाले ‘सय दिने सदस्यता विशेष अभियान’ सुरु गरेको छ । यो अभियानमा नयाँ साधारण सदस्यता खुल्ला गरिएको छ भने पुराना सदस्यहरूलाई नवीकरणका लागि आह्वान गरिएको छ ।

अध्यक्ष ढकालले यी कार्यक्रमले पत्रकारहरूको सिर्जनशीलता र संगठनको सक्रियता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

Leave a Comment

सम्बन्धित खबर