
नेपालगन्ज, १७ श्रावण – साउनमा बोलबम भक्तहरुको आगमनका बेला बाँकेको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक ताल फोहोर र दुर्गन्धले भरिएको कारण आलोचनाको केन्द्र बनेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित बागेश्वरी मन्दिर सनातनी हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण शक्तिपीठ हो। यहाँ दैनिक हजारौं श्रद्धालु पूजा, दर्शन र स्नानका लागि आउने गर्छन्। तर, तालको दुरवस्थाले धार्मिक आस्था र सांस्कृतिक विरासतमा ठेस पुगेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्दै गुनासो गरेका छन्।
स्थानीयवासी प्रमोद शर्माले तालको अवस्था अत्यन्तै दयनीय भएको बताए। “यो पवित्र स्थल हो, हामी तालमा नुहाएर मात्र मन्दिर प्रवेश गर्छौं। तर, अहिले तालमा नुहाउन सकिने अवस्था छैन। वरपरका घरहरूबाट धाराको फोहोर पानी सिधै तालमा मिसाइएको छ,” उनले भने। उनका अनुसार, केही वर्षअघि पनि यस्तै समस्या देखिएको थियो, तर स्थानीय श्रद्धालुहरुको आक्रोश देख्दै मन्दिर व्यवस्थापन समितिले केही उपाय गरेको थियो। “अहिले स्थिति झन् बिग्रिएको छ। न नगरपालिकाले सुन्छ, न मन्दिर समितिको ध्यान गएको छ,” शर्माले गुनासो गरे।
नियमित पूजा गर्न मन्दिर आउने मधु देवकोटाले तालको अवस्था देख्दा धार्मिक भावनामा चोट पुगेको बताइन्। “म २० वर्षदेखि यहाँ पूजा गर्न आउँछु। सनातनी परम्पराअनुसार तालमा स्नान गरेर मात्र मन्दिर प्रवेश गर्छौं। तर, अहिले तालमा दुर्गन्ध छ, पानी स्थिर र फोहोर छ, झारजंगल र प्लास्टिकको थुप्रो छ,” उनले भनिन्। “धार्मिक स्थलमा यस्तो अवस्था हुनु अपराध हो। हाम्रो आस्था र श्रद्धाको अपमान भइरहेको छ,” उनले थपिन्।
केही दिन अघि देखिएको दृश्य यस्तो पनि…
सेवानिवृत्त शिक्षक रामकृष्ण उपाध्याय, जो मन्दिरमा नियमित पूजा गर्छन्, तालको दुरवस्थालाई परम्पराको अपमान ठान्छन्। “बागेश्वरी मन्दिर नेपालको प्रसिद्ध शक्तिपीठ हो। यो हाम्रो पहिचान हो। तालमा ढल मिसाउनु भनेको हाम्रो संस्कृति र धर्ममाथिको ठाडो अपमान हो,” उनले भने।
श्रद्धालुहरूले तालको सरसफाइ र ढलको व्यवस्थापनका लागि तत्काल कदम चाल्न माग गरेका छन्। मन्दिर व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकाले यो समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूले जोड दिएका छन । “हामी शान्ति र सुखको खोजीमा मन्दिर आउँछौं, तर यहाँको अवस्था देख्दा मन दुख्छ,” एक श्रद्धालुले भने।
यता, मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिकाले यो विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। तालको सरसफाइ र मन्दिर परिसरको पवित्रता कायम राख्न स्थानीयवासीले तत्काल पहल गर्न माग गरेका छन्।
