
नेपालगन्ज, १५ श्रावण – अवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालगन्जमा ५२८औँ गोस्वामी तुलसीदास जयन्ती विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै कविता, गीत, सोहर, छन्द वाचन र जीवनी स्मरणमार्फत तुलसीदासप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी कावाअध्यक्ष शुशीला वैश्यले गरेकी थिइन्। मधेशी आयोगका कावाअध्यक्ष जीवछ साह प्रमुख अतिथि र आयोगका सदस्य विजयकुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। भारतबाट आमन्त्रित अवधी भाषा प्रबद्र्धक सन्दीप मिश्रा र इन्द्रेशबहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको छ।
त्यस्तै, पत्रकार सावित्री गिरीसहित करिब ४० व्यक्तित्वलाई अवधी भाषा र साहित्य प्रवद्र्धनमा योगदानका लागि कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
यसैगरी ‘बिमला–बिष्णु अवधी सेवा सम्मान–२०८२’ बाट पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई नगद रु. १२५० सहित सम्मानपत्रले सम्मानित गरिएको छ।
कार्यक्रमको मुख्य आकर्षण बहुभाषिक कवि गोष्ठीमा अवधी, नेपाली, मैथिली लगायत भाषामा साहित्यकारहरूले रचना वाचन गरी तुलसीदासको योगदानप्रति श्रद्धा व्यक्त गरे। अतिथिहरूले तुलसीदासका काव्य, विशेषगरी रामचरितमानसको सामाजिक, सांस्कृतिक र भाषिक महत्त्वमाथि प्रकाश पारे। प्रमुख जिल्ला अधिकारी जोशीले रामचरितमानसका पाँच श्लोक वाचन गरी कार्यक्रममा उत्साह थपेका थिए।
सांस्कृतिक प्रस्तुतिमा अवधी भाषी महिलाहरूले सोहर, कजरी, विवाह गीत लगायत मौलिक गीतहरू प्रस्तुत गरी कार्यक्रमलाई भावनात्मक र सांस्कृतिक रूपमा समृद्ध बनाए।
कार्यक्रमलाई सञ्चालन विष्णुलाल कुमालले गरेका थिए। अन्त्यमा कावाअध्यक्ष वैश्यले सहभागी, अतिथि र सहयोगीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन्।
