नेपालगन्जको रेष्टुरेन्टमा, वेट्रेसको हत्या, क्याप्टेनद्वारा आत्मसमर्पण

संवाददाता
संवाददाता

नेपालगन्ज, ९ साउन २०८२ – नेपालगन्जको बेलासपुरस्थित स्वस्तिक कटेजमा कार्यरत क्याप्टेन प्रकाश सुनारले सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या गरेका छन्। दैलेख घर भएकी निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरिएको प्रहरीले जनाएको छ।

घटना गत बुधबार नेपालगन्ज वडा नं. १२ बेलासपुरमा भएको हो। ३५ वर्षीय प्रकाश सुनारले निर्मलाको हत्या गरेपछि उनको बहिनीलाई फोन गरी “तिम्रो दिदीलाई मैले मारे” भनेर जानकारी दिएका थिए। त्यसपछि उनले आफ्ना साथीभाइ र आफन्तलाई भेटेर “अब यति हो” भन्दै अन्तिम भेटघाट गरेर गएराति २ बजे जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर आत्मसमर्पण गरेका थिए। प्रहरीले उनको बयानका आधारमा कोठामा गएर निर्मलाको शव फेला पारेको हो।

प्रहरीका अनुसार निर्मलाको परिवार शुक्रबार नेपालगन्ज आइपुगेपछि शवको पोस्टमार्टम गरिएको छ। बर्दिया घर भएका प्रकाश विवाहित हुन् र उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बर्दियामा बस्छन्। प्रकाशको परिवारका अनुसार विगत तीन वर्षदेखि प्रकाश र निर्मला बेलासपुरमा सँगै बस्दै आएका थिए। प्रकाशले निर्मला र उनको परिवारलाई आफू अविवाहित भएको झुटो जानकारी दिएको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर