
मेराज सलमानी २०८२ साउन ५

नेपालगन्ज — क्यान्सरबाट निधन भएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मृतिमा सहयोग र मानवीय सेवाको उद्देश्यले सुरु गरिएको चिया अभियान यही साउन ९ गते शुक्रबार नेपालगन्जको त्रिभुवनचोकमा आयोजना हुँदैछ।
विन्दु कुँवर फाउन्डेसन र बाल क्लबका पूर्व सदस्यहरूद्वारा सञ्चालित सहयात्री नेपालले उक्त अभियानको आयोजना गर्न लागेको हो। ‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने सन्देशमूलक नाराका साथ सुरु गरिने अभियानमा चियाको स्टल राखेर निःशुल्क चिया वितरण गरिनेछ।
सहभागीहरूले चिया सेवन गर्दै क्यान्सरपीडितहरूको उपचार तथा सहयोगका लागि आर्थिक योगदान दिन सक्नेछन्। यसरी संकलित रकम विन्दु कुँवरको स्मृतिमा स्मृति कक्ष निर्माण र क्यान्सरपीडितहरूको सहायतामा खर्च गरिने आयोजक संस्थाले जनाएको छ।
सहयात्री नेपालका अनुसार, अभियानले जनचेतना, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विस्तार गर्ने लक्ष्य लिएको छ। आयोजकहरूले सबैलाई त्रिभुवनचोकमा उपस्थित भई अभियानमा साथ दिन अपील गरेका छन्।
