
नेपालगन्ज, बाँके – नेपालगन्ज उपमहानगरपालिकामा रहेको सनातनी हिन्दुहरूको आस्थाको केन्द्र जुँगे महादेव मन्दिरको निर्माण कार्यमा भएको ढिलाइले स्थानीय जनतामा आक्रोश बढ्दै गएको छ। दुई वर्ष बितिसक्दा पनि तेस्रो वर्ष लाग्दासम्म मन्दिर निर्माणको कामले गति लिन नसकेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका, बागेश्वरी गुठी कार्यसमिति, ठेकेदार र राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

धार्मिक अगुवा राजकुमार रौनियारका अनुसार, ६ महिनामा सम्पन्न हुनुपर्ने मन्दिर निर्माणको काम वर्षौंसम्म लम्बिँदा साउन महिनामा भगवान शिवको पूजा गर्नुपर्ने धार्मिक कार्यसमेत प्रभावित भएको छ। “मेयर, उपमेयर, ठेकेदार र गुठी कार्यसमितिका सबै राजनीतिक दलको भागबण्डामा रमाएर बसेका छन्। साउन महिना लागिसकेको छ, तर मन्दिर निर्माणको काम सुस्त छ। जनताको आस्थामाथि बेवास्ता गर्नु गलत हो,” रौनियारले भने।
साउन महिनामा शिवभक्तहरूले जल चढाएर भगवान महादेवको पूजा गर्ने परम्परा छ। तर, मन्दिर निर्माणमा भएको ढिलाइका कारण यो वर्ष पनि भक्तहरूले पूजा गर्न नपाउने अवस्था सिर्जना भएको छ। स्थानीयवासीले जनप्रतिनिधि र ठेकेदारको जवाफदेही नहुनु र कामप्रति बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। “सनातनी हिन्दुहरू एकजुट नहुँदा हाम्रो आस्थामाथि खेलवाड भइरहेको छ। यो बेवास्ताको पनि हद हुन्छ,” एक स्थानीय शिवभक्त प्रेम कश्यपले गुनासो गरे।
बागेश्वरी गुठी कार्यसमितिमाथि पनि राजनीतिक दलहरूको भागबण्डाको प्रभाव परेको आरोप लागेको छ। स्थानीयवासीले मन्दिर निर्माणको कामलाई तीव्रता दिन र साउन महिनाभित्र मूर्ति स्थापना गराइदिए श्रद्धालुजन, शिवभक्त गणहरुको आस्थाको सम्मान पनि हुने बताए। “यसपटक पनि जनताको आस्थालाई बेवास्ता गरियो भने जनप्रतिनिधि र मन्दिर समितिले आक्रोशको सामना गर्नुपर्नेछ,” रौनियारले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले मन्दिर निर्माणको ढिलाइबारे कुनै आधिकारिक जवाफ दिएको छैन। स्थानीयवासीले अब पनि निर्माण कार्यले गति नलिए कडा कदम चाल्ने चेतावनी दिएका छन्। सनातनी हिन्दुहरूको पवित्र पर्व साउनमा मन्दिर निर्माण सम्पन्न नहुँदा जनताको धार्मिक भावनामाथि ठूलो आघात पुगेको उनीहरूको भनाइ छ।
