
मेराज सल्मानी

नेपालगञ्ज, २२ असार २०८२
इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रमअन्तर्गत मंगलबार नेपालगञ्जमा ताजिया जुलूस भव्यताका साथ सम्पन्न भएको छ। सहरका विभिन्न टोलहरूबाट निकालिएका ताजियाहरू एकत्रित भई परम्परागत शैलीमा शहर परिक्रमा गरेका थिए।

जुलूसमा सहभागीहरूले इमाम हुसैनको बलिदानको सम्झनामा मातम गरेका थिए। रंगीन कागज, सुनौलो झिल्के पट्टी, फूल र बत्तीले सजाइएका ताजियाहरूले जुलूसलाई आकर्षक बनाएको थियो।
कार्यक्रममा शान्ति र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए। भिड व्यवस्थापनमा प्रहरीको सक्रिय भूमिकाले जुलूस निर्विघ्न रूपमा सम्पन्न भएको थियो।

यो पर्वले नेपालगञ्जमा सांस्कृतिक सहिष्णुता र धार्मिक सद्भावको सन्देश प्रवाह गरेको छ। मुस्लिम समुदायसँगै अन्य समुदायका व्यक्तिहरूको सहभागिताले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ।
