
विराटनगर,आइतबार १५ कात्तिक : विराटनगरमा आइतबार शंकास्पद वस्तु विस्फोट हुँदा एकै परिवारका दुईजना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा आइतबार बिहान फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको हो ।

प्रहरीका अनुसार बिहान करिब ११ ः ३० बजे भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजमा खातुन र उनका ससुरा ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन् ।विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
