नेपाली ग्रामीण जीवनको जीवन्त प्रतीक : परम्परागत ‘बेना’

संवाददाता
संवाददाता

अरुणिमा सिंह :-

नेपालगन्ज , ५ जेठ – गर्मीको मौसममा बिजुलीको भर नहुने ग्रामीण क्षेत्रमा अझै पनि हातले बनाइएको पङ्खा ‘बेना’ ले महत्वपूर्ण भूमिका खेलिरहेको छ। नेपालको तराई क्षेत्र, विशेष गरी बाँके जिल्लामा मातृशक्ति र परम्पराको प्रतीक बनेको यो बेना अहिले पनि दैनिक जीवनको अभिन्न अंग हो।

एक जना स्थानीय महिलाको हातबाट बनेको अत्यन्त सुन्दर बेनाको डिजाइनले धेरैलाई आकर्षित गरेको छ। यो बेना केवल पङ्खा मात्र होइन, मेहनत, कलाकारिता र सांस्कृतिक सम्पदाको जीवन्त उदाहरण हो।

परम्परागत ‘बेना’

बेना बनाउने परम्परागत विधि
बाँकेका महिलाहरूले बेना बनाउनका लागि स्थानीय रूपमा ‘सेंठा’ भनिने बाँसका सींकहरू प्रयोग गर्छन्। सींकहरूलाई तोडेर हँसिया वा चक्कुले बीचबाट फाडिन्छ। त्यसपछि तिनलाई पानीमा भिजाएर नरम बनाइन्छ। बेलनले चप्टा पारेर खुरपाले भित्री गूदो निकालेपछि सींक तयार हुन्छ।

यस्तै यी सींकहरूलाई मनपर्ने रङमा रङ्गाएर विभिन्न डिजाइन दिइन्छ। आकार अनुसार काटेर दर्जीबाट बचेका कपडाको टुक्राले तीन किनारा सिलाइन्छ। बाँसको पातलो टहनीबाट बनेको ‘साटा’ र साइकलको पेडलको नलीबाट बनाइएको ‘पोङ्गी’ ले बेनालाई ह्यान्डल दिन्छ। अन्तिममा रङ्गीन कपडाको झालर लगाएर बेनालाई अझ आकर्षक बनाइन्छ।

ग्रामीण जीवनमा बेनाको उपयोगिता
शहरी क्षेत्रमा बिजुली, इन्भर्टर र फ्यानले गर्मी घटाए पनि गाउँमा अवस्था फरक छ। लामो समयसम्मको लोडसेडिङ, आँधीबेहरीले तार टुट्ने समस्या र इन्भर्टरको सीमित क्षमताका कारण बेना अझै पनि अपरिहार्य छ।

पारम्परिक ” बेना “पंखा

साझ (शाममा )पशुहरूलाई चारा खुवाएर बाँध्ने बेला मच्छर भगाउने धुँवा बाल्न, मकै सेक्न, लिट्टी चोखा बनाउन आगो फुक्न बेनाको ठूलो भूमिका रहन्छ। यसले गर्मीबाट मुक्ति मात्र दिँदैन, दैनिक कामकाजमा पनि सहयोग गर्छ।

सांस्कृतिक महत्व
अवधी सान्स्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमालको अनुसार बेना केवल उपयोगी वस्तु मात्र होइन, सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ। विवाहका बेला दुलहीले माइतीबाट ल्याउने सामानमा बेना अनिवार्यजसो हुन्छ। वाडिया, मौनी, सिकाहुली जस्ता परम्परागत वस्तुसँगै बेना पनि दाइजोमा आउँछ। यदि दुलही स्वयं कलाकार छिन् भने थप सुन्दर र धेरै बेना ल्याउने प्रचलन छ।

कुमालले भने समयसँगै बेनाको स्थान परिवर्तन भएको छ। पहिले यो दैनिक आवश्यकता थियो भने अहिले आवश्यकता अनुसारको उपयोगी वस्तु बनेको छ। तर ग्रामीण नेपालमा यो अझै पनि मातृहृदयको माया, मेहनत र परम्पराको प्रतिनिधित्व गर्छ।

यस्ता परम्परागत कलाकृति जोगाउनु पर्ने र नयाँ पुस्तालाई सिकाउनु पर्ने प्रतिष्ठानका संस्थापक कुमालको भनाइ छ। बेना जस्ता हस्तकला न केवल गर्मी छल्ने माध्यम हुन्, तर नेपाली ग्रामीण संस्कृतिको जीवन्त दस्तावेज पनि हुन्।

 

Leave a Comment

सम्बन्धित खबर