वट सावित्री व्रत : बरसाइत पुजा (वर्षा ऋतुको जन्म) बाँकेका महिलाहरूले पुजाआजा गरि मनाए , वट वृक्षको पूजा गर्दै दाम्पत्य सुखको कामना गरे

संवाददाता
संवाददाता

शिवराज साहू :-

नेपालगञ्ज, जेठ २ बाँके जिल्लाको नेपालगञ्ज तथा आसपासका गाउँहरूमा आज वट सावित्री (वरगदहाई) पर्व मनाइएको छ । ज्येष्ठ महिनाको कृष्ण पक्षको अमावस्याको दिन सुहागिन महिलाहरूले पति र परिवारको सुख, दीर्घायु तथा अखण्ड सौभाग्यको कामना गर्दै यो व्रत राख्ने प्रचलन छ ।

कठमहलिया, बाबाकुट्टीको दृश्य

आज बिहानैदेखि नेपालगन्जका महिलाहरूले हलुवा, पूडी र गोलगोल मीठा बरगद तयार पारेर १६ श्रृङ्गार गरेका थिए । हातमा मेहन्दी र खुट्टामा महावर लगाएर विधिपूर्वक व्रतको तयारी गरेका उनीहरू रानीतलाउ नजिकैको कठमहलिया बाबाकुट्टीमा रहेको वट वृक्ष (बरगदको रूख) नजिक पुगेर पूजा गर्न व्यस्त थिए ।

पूजाको क्रममा सबैभन्दा पहिले सत्यवान र सावित्रीको तस्बिर वा प्रतिमालाई रूखको जरा नजिक स्थापित गरिन्छ । त्यसपछि धूप, दीप, फूल, अक्षत चढाएर पूजा गरिन्छ । पूजापछि कच्चा सूतले वट वृक्षको ११ पटक परिक्रमा गरिन्छ । यसपछि भिजाएको चना लिएर वट सावित्री व्रतकथा पढ्ने र कथा सुन्ने गरिन्छ । कथा पढेपछि रूखको फल खाएर व्रत तोडिन्छ र सामर्थ्यअनुसार दान पनि गरिन्छ ।

व्रतको महत्व र कथा :
यो व्रतको मुख्य आधार पौराणिक कथा हो । राजा अश्वपतिकी छोरी सावित्रीले मृत पति सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याएको कथालाई यस व्रतसँग जोडेर हेर्ने गरिन्छ । व्रतकथा पढ्दा पतिको लामो आयु, परिवारमा सुख-समृद्धि र अखण्ड सौभाग्य प्राप्त हुने विश्वास छ ।

वट वृक्षमा ब्रह्मा, विष्णु र महेश्वर त्रिदेवको वास हुने मान्यता छ । यसैले यसको पूजाले सम्पूर्ण देवी-देवताको आशीर्वाद मिल्ने र दाम्पत्य जीवनमा खुशी कायम रहने विश्वास गरिन्छ । यस व्रतलाई वर्षा ऋतुको आगमनसँग पनि जोडेर हेर्ने गरिन्छ । वट वृक्षलाई दीर्घायु र पर्यावरण संरक्षणको प्रतीक मानिन्छ ।

सामुदायिक उत्साह :
नेपालगञ्जका विभिन्न ठाउँमा महिलाहरू समूहमा भेला भएर वट वृक्षको पूजा गरेका थिए । व्रत तोडेपछि दान गर्ने परम्पराले जीवनका समस्याहरू हट्ने र पुण्य प्राप्त हुने मान्यता छ ।

सबै दिदीबहिनीहरूलाई Asia Tv Nepal को तर्फबाट वट सावित्री व्रतको हार्दिक बधाई तथा शुभकामना ! यो पर्वले सबैको वैवाहिक जीवन सुखमय र परिवारमा सुख-समृद्धि बढोस् ।

Leave a Comment

सम्बन्धित खबर