
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न नौवटा निकायका ३६ पदाधिकारी पदमुक्त भएका छन् ।

मन्त्रालयले मंगलबार (वैशाख २२) जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गतका विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, आयोग तथा समितिका पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन् ।
अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम ती निकायमा कार्यरत अध्यक्ष, सदस्य तथा कार्यकारी पदाधिकारीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी पदमुक्त भएका छन् । यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यसहित सदस्यहरू पदमराज जोशी, भीमलाल श्रेष्ठ, शन्तराम विडारी, कुमारी निमा काफ्ले, रामप्रसाद दहाल, विजयराज अधिकारी, बालकृष्ण अधिकारी, केशवशरण लामिछाने र नकुल अर्याल पदमुक्त भएका छन् ।
यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रवीन्द्र झा र गोकर्णप्रसाद सिटौला पदमुक्त भएका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं तथा सदस्यहरू पवन अधिकारी, प्रेमबहादुर भट्टराई र मोहन गुरुङ पनि पदमुक्त भएका छन् । सुरक्षण मुद्रण केन्द्रका सदस्य आदित्य न्यौपाने र कार्यकारी निर्देशक देवराज ढुंगाना पदमुक्त भएका छन् ।
त्यस्तै पदमुक्त हुनेमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट तथा सदस्यहरू अनिता गुरुङ, फूलमान बल र भूमिराज चापागाईं छन् । यसैगरी, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य तथा सूचना आयुक्तहरू दुर्गा भण्डारी पौडेल र गगन विष्ट पनि पदमुक्त भएका छन् ।
चलचित्र जाँच समितिका सदस्यहरू सम्पन्न श्रेष्ठ, कुवेरराज गिरी र भगवतीकुमारी मैनाली उप्रेती (भीमा), न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का तथा सदस्यहरू नवीनराज कुइँकेल, वासुदेव मिश्र र जमुना शर्मा पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
स्रोत : विश्वखबर
