
शिवराज साहू :- Asia Tv Nepal

बाँके, १९ बैशाख — नेपालको तराई क्षेत्र, विशेष गरी बाँके जिल्लामा एक समय पीढा (पिडा, चौकी वा पाटा) दैनिक जीवनको अभिन्न अंग थियो। मेहमान स्वागतदेखि विवाह संस्कारसम्म, महिलाको घरेलु कामदेखि भोजनसम्म यसको व्यापक प्रयोग हुन्थ्यो। तर आधुनिकता र परिवर्तित जीवनशैलीसँगै यो परम्परा लगभग लोप हुँदै गएको छ।

पीढा सामान्यतया काठ (लकडीबाट ) बनेको कम उचाइको आरामदायक आसन हो। पुरानो समयमा घरमा मेहमान आउँदा पहिले पीढा राखेर स्वागत गरिन्थ्यो। उचो पीढा विशेष सम्मानको प्रतीक मानिन्थ्यो। बिहारसँग सांस्कृतिक समानता भएको तराईमा यो भनाइ अझै प्रचलित छ: “बिन बुलएले मत जईह भवानी, न मिलतव पीढ़ा अउर पानी”। अर्थात्, नबोलाएको घर जाँदा पीढा र पानी पनि नमिल्न सक्छ।

घरेलु काममा पनि महिलाहरूले पीढाको भरपूर उपयोग गर्थे। खाना पकाउँदा, काम गर्दा, भोजनपछि थाली राख्न ठूलो पीढा र बस्न सानो पीढा प्रयोग हुन्थ्यो। अन्नपूर्णा मातालाई सम्मान दिन थाली उचो पीढामा राखिने चलन थियो। जूठो नहोस् भनेर प्रयोगपछि सफा गरी भित्तामा खडा गरिन्थ्यो। लकडीको भएकाले कतै जूठो नमान्ने पनि थिए।

विवाह संस्कारमा पीढाको विशेष महत्व थियो। शादीमा नयाँ पीढा बनाएर वर–वधूलाई बसाई पण्डितबाट सात जन्मसम्मको मन्त्र पढाइन्थ्यो। छोरीको ससुराल जाँदा राम्रो डिजाइन भएको पीढा दाइजोमा पठाउने प्रथा थियो। यसले सांस्कृतिक निरन्तरता र पुस्तान्तरणको प्रतीक पनि थियो।


शहरहरूमा महँगा सोफा र डाइनिङ टेबलले पीढालाई कबाडमा पुर्याएको छ। गाउँमा पनि एक–दुई घरमा मात्र देख्न पाइन्छ। तर परम्परागत मूल्य मान्यता बोकेको यो साधारण लकडीको आसनले आरामदायक र व्यावहारिक महत्व राख्थ्यो।

अवधी सान्स्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुला कुमालको अनुसार संस्कृतिविद् र स्थानीय बुढापाकाहरूका अनुसार, यस्ता परम्पराहरू जोगाउन स्थानीय संग्रहालय, सांस्कृतिक कार्यक्रम र पुस्तान्तरण आवश्यक छ। आधुनिक सुविधासँगै पुराना मूल्य पनि बचाउन सके मात्र हाम्रो तराईको सांस्कृतिक पहिचान जीवित रहनेछ।

पीढा जस्तै साना–साना वस्तुहरूले नै हाम्रो समाजको एकता, सम्मान र सरलताको कथा बोकेका हुन्छन्। तिनलाई बिर्सँदा हामी आफ्नै जडसँग टाढिँदै जान्छौं।

