
गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न संकटको सामना गरिरहेका दुई तिहाई मानिसहरू मुख्य गरी १० वटा देशका रहेको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुसार उनीहरू मध्ये एक तिहाइ सुडान, नाइजेरिया र कंगोका रहेका छन् ।

संयुक्त राष्ट्र संघ युरोपेली संघ र मानवीय निकायहरूको तथ्यांकमा आधारित खाद्य संकट सम्बन्धी ग्लोबल रिपोर्ट अनुसार द्वन्द्व तीव्र खाद्य असुरक्षाको मुख्य कारण रहेको बताइएको छ ।
द्वन्द्व र जलवायु परिवर्तनले प्रभावित देशको आगामी अवस्था निर्धारण गर्ने सम्भावना रहेको रिपोर्टले जनाएको छ । अफगानिस्तान, बंगलादेश, कङ्गो, म्यानमा, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमन गरी १० वटा देशहरूमा तीव्र खाद्य असुरक्षा रहेको प्रतिवेदनमा उल्लेख छ ।
रिपोर्टमा खाद्य असुरक्षा दुई अलग–अलग सन्दर्भहरूमा पुष्टि भएको छ भने गाजा र सुडानका केही भागहरूमा एकै वर्षमा तीव्र खाद्य असुरक्षा देखा परेको जनाइएको छ । विश्वव्यापी रुपमा ४७ देशका करिब २६ करोड ६० लाख मानिसहरूले गत वर्ष उच्च स्तरको खाद्य असुरक्षाको अनुभव गरेको जनाइएको छ ।
जसले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावटको पनि चेतावनी दिएको छ भने मध्य पूर्व युद्धका कारण विस्थापितहरूको संख्या बढेर विद्यमान संकट अझै बढने जोखिम रहेको बताएको छ ।
प्रमुख तेल आपूर्ति मार्ग, स्ट्रेट अफ होर्मुजको अवरोधले मूल्य वृद्धि हुँदै जाँदा अझै आद्य असुरक्षा बढ्ने सम्भावना रहेको प्रतिवेदनले औंल्याएको छ ।
हाल खेतिवाली गर्ने समयमा मल अभाव र मूल्य वृद्धिले संकट अझै बढ्ने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइएफएडी)का प्रमुख अल्वारो लारियोलेलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
उनले साना किसानहरूलाई थप सहयोगका लागि आह्वान गर्दै पानी र जलवायु अनुसारका बालीहरूमा लगानी गर्न आवाह्नन गरेका छन् । स्थानीय रूपमा मल उत्पादन गर्ने किसानहरूले माटोको स्वास्थ्य सुधार गरेर संकट कम गर्न सक्ने उनले बताए । मल उत्पादनका लागि स्थानीय निजी क्षेत्रका लागि उपकरण तथा अवसर सिर्जना गरी दिगोपन र कायम गर्न सकिने लारियोले बताएका छन् ।
स्रोत : फरकधार
