
नेपालगञ्ज, २०८३ वैशाख ७ – जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बर्दियाले लगातार भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइएका अवैध सामान बरामद गरेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा खटिएका टोलीले तस्करीका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान तथा भन्सार कार्यालयमा पठाएको छ।


जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मिति २०८३ वैशाख ७ गते (आर्थिक वर्ष २०८२/८३) नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० र १६ बाट भन्सार छली तस्करी गरी ल्याइएका फलफूल, सादा मोबाइल तथा अन्य सामान बरामद गरिएको छ। उक्त सामानको अनुमानित बजार मूल्य ६८ हजार ७ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय गुलरिया, बर्दियाले मिति २०८३ वैशाख ७ गते जारी गरेको प्रेस विज्ञप्तिमा तीनवटा छुट्टाछुट्टै घटनाको विवरण उल्लेख गरिएको छ :
विवरण नं. १ : मिति २०८३ वैशाख ५ गते दिउँसो १४ः५५ बजे बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखरस्थित हुलाकी सडक खण्डमा खटिएको संयुक्त प्रहरी टोलीले एक हजार प्याकेट खुकुरी चुरोट र एक हजार आठ सय पिस सुपर पावर सुर्ती बरामद गरेको छ। अनुमानित बजार मूल्य एक लाख ६८ हजार रुपैयाँ रहेको उक्त सामान राजापुर भन्सार कार्यालय गुलरिया, बर्दियामा पठाइएको छ।

विवरण नं. २ : मिति २०८३ वैशाख ४ गते बिहान ११ः०० बजे बढैयाताल गाउँपालिका वडा नं. ६ चपलानाला स्थितबाट Dew र प्लास्टिकका थाली बरामद गरिएको छ। अनुमानित मूल्य ४२ हजार नौ सय ५० रुपैयाँ रहेको सामान भन्सार कार्यालयमा बुझाइएको छ।
विवरण नं. ३ : मिति २०८३ वैशाख ५ गते दिउँसो १२ः२० बजे बढैयाताल गाउँपालिका वडा नं. ६ रानिपुर नजिकैबाट केरा बरामद गरिएको छ। अनुमानित मूल्य १२ हजार ५ सय रुपैयाँ रहेको सामान पनि भन्सार कार्यालयमा पठाइएको जनाएको छ।

दुवै जिल्लाका प्रहरीले भन्सार छली रोक्ने अभियानलाई तीव्र बनाएको बताएका छन्। बाँकेमा नि. सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्ट र बर्दियामा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जारी गरेको प्रेस विज्ञप्तिमा तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्न पनि अनुरोध गरिएको छ।

प्रहरीले यस्ता गतिविधिले राजस्वमा क्षति पुर्याउने र अवैध व्यापारलाई प्रोत्साहन दिने भएकाले सतर्क रहन आग्रह गरेको छ। बरामद सामानमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

