बुटवल र कपिलवस्तुमा सुन चोर्ने दुई पाकिस्तानी महिला पक्राउ

संवाददाता
संवाददाता

रूपन्देही । बुटवल र कपिलवस्तुमा सुन चोर्ने दुइ महिला पाकिस्तानी भएको खुलेको छ । उनीहरूसँग पाकिस्तानी पासपोर्ट भेटिएको छ ।

समातिएका पाकिस्तानी महिला

बुटवलको योगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनको सिक्री चोरी गरेर फरार दुई महिला कपिलवस्तुको सदरमुकाम तौलिहवा र शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरी गरेपछि समातिएपछि उनीहरू पेशेबर भएको खुलेको हो ।

बुटवलको योगिकुटीमा रहेको भैरव सुनचाँदी पसलबाट डेढ तोलाको सुनको सिक्री चोरी गरेर फरार उनीहरूले मंगलबार साँझ साढे ५ बजेतिर सुन किन्ने बहानामा चन्द्रौटाको सुन पसलमा गएका थिए ।

समातिएका पाकिस्तानी महिला

सुन किन्ने भन्दै विभिन्न गहना हेर्ने क्रममा उनीहरूले त्यहाँ पनि सुन चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको छ।

चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका छन् । चोरी कार्यमा संलग्न दुबै महिला पाकिस्तानी नागरिक हुन् ।

पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गर्दा केही पर पुगेपछि ती महिला फेला पारी प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

उनीहरूले नगद देखाउँदै गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ । पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्टसमेत बरामद भएको छ।

हाल उनीहरूविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। पक्राउ परेका महिलाको गिरोह नै रहेको जनाउँदै प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

कपिलवस्तुका एसपी सन्तोष आचार्यले तीनै ठाउँमा चोरी गर्ने महिला एकै भएको सिसिटिभी फुटेजबाट पत्ता लागेको र उनीहरू पाकिस्तानबाट आएको प्राप्त पासपोर्टले देखिएको जनाए ।

‘पासपोर्टमा इम्रिगेशनको छाप लागेको छ, भ्रमणका लागि आएका देखिन्छन्, बुटवल र कपिलवस्तुका दुवै स्थानमा चोरी गर्ने एकै समूहका छन्, हामी अनुसन्धानमा छौं’ उनले भने ।

स्रोत : नेपालप्रेस

Leave a Comment

सम्बन्धित खबर