पितृ उद्धारका लागि अछामवासीको सामुहिक धार्मिक यात्रा

संवाददाता
संवाददाता

शिवराज साहू :- Asia Tv Nepal 

मंगलसेन, अछाम, २९ चैत – पितृ उद्धारका लागि अछाम जिल्लाका बासिन्दाहरूको सामूहिक धार्मिक यात्रा सुरु भएको छ । ढकारी गाउँपालिका–१ का पेशागत रूपमा माध्यमिक शिक्षक तथा स्वर्ण सामग्री मंगलसेनका सहायक प्रधानाध्यापक सर्पराज रिमालसहित २४ जनाको परिवार समूह यो यात्रामा सहभागी रहेका छन् ।

यात्रा अन्तर्गत उनीहरू भारतको काशी (वाराणसी), बनारस, अयोध्या लगायत विभिन्न धार्मिक स्थलहरूमा पुग्ने छन् । पहाडी तथा हिमाली जिल्लामा बस्ने हिन्दू ब्राह्मण–क्षेत्री समुदायले वर्षेनी भारतका विभिन्न तीर्थस्थलमा पितृ विसर्जन र कुल धर्म शुद्धीकरणका लागि जाने प्रचलन रहेको छ । गुरुबा डिल्ली बुढाका अनुसार, यो तीर्थका लागि नेपालबाट वर्षेनी हजारौंको संख्यामा श्रद्धालुहरू जाने गर्छन् ।

रिमाल परिवारले पितृ उद्धारका लागि एक पटक तीर्थ यात्रा गर्नुपर्ने परापूर्वकालदेखिको मान्यता र जनविश्वासलाई पछ्याउँदै यो यात्राको आयोजना गरेको हो । “हाम्रो बाउबाजेको परम्पराअनुसार पितृ उद्धार गर्न एक पटक तीर्थमा पुग्नै पर्छ,” रिमालले भने, “परिवारका सबै सदस्यसहित पितृहरूको मूर्ति बनाउने, पूजा–आजा गर्ने, स्नान आदि गरि हिन्दू विधि अनुसार गयामा लगेर विसर्जन गर्ने र केहीलाई दुईपखल नुहाई चोखो बनाएर घर ल्याउने हाम्रो परम्परा छ ।”

उनीहरूको परिवार समूहमा ६ जना महिला र ११ जना पुरुष गरी १७ जना छन् । अर्को एक परिवारका ४ जना महिला र ३ जना पुरुष गरी ७ जना थपिएपछि कुल २४ जनाको टोली बनेको रिमालले बताए ।


आज नेपालगन्ज पुगेको यो समूहले शनिबार राति नेपालगन्जमै बास बस्ने र आइतबार बिहान जमुनाहा नाका हुँदै भारतको रुपैडिहा नाकाबाट यात्रा सुरु गर्ने योजना बनाएको छ ।

गुरुबा डिल्ली बुढाको अनुसार यो सामूहिक यात्राले स्थानीय हिन्दू परम्परा र धार्मिक आस्था जीवन्त राख्न मद्दत पुग्ने विश्वास गरिएको भने ।

Leave a Comment

सम्बन्धित खबर