
सुनसरी : कोशी प्रदेशका विभिन्न जिल्लामा गुण्डागर्दी र बिचौलिया समूहविरुद्ध प्रहरी सक्रिय बनेपछि यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको भागदौड मच्चिएको छ । शान्ति–सुरक्षामा असर पार्ने तत्वहरूको पहिचान गर्न गृह मन्त्रालय निर्देशन दिएपछि प्रहरीले प्रदेशभरि उनीहरूको नाम संकलन गर्ने काम सुरु गरेको छ ।

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयले सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायत जिल्लाका मातहतका प्रहरी कार्यालयलाई गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी पठाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार प्रदेशका प्रमुख शहरहरू-बिराटनगर, धरान, दमक, बिर्तामोड, उर्लाबारी, बेलबारी र काँकडभिट्टाबाट यस्ता व्यक्तिहरूको नाम संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयमार्फत देशभरका युनिटहरूलाई गुण्डागर्दीमा संलग्नहरूको सूची तयार गर्न भनिएको छ । सूची संकलन सुरु भएसँगै यस क्षेत्रमा सक्रिय केही ‘गुण्डा नाइके’ हरू मोबाइल बन्द गरेर सम्पर्कविहीन बनेका छन् ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री सुदन गुरुङले सरकारविरुद्ध हुन सक्ने गतिविधिमा यस्ता समूहको प्रयोग हुनसक्ने आशंका व्यक्त गर्दै उनीहरूलाई निगरानीमा राख्न र आवश्यक परे पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका छन् । साथै, विगतमा विभिन्न अभियोग लागेर कारबाही हुन बाँकी रहेका व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिन निर्देशन दिइएको बुझिएको छ । प्रहरीले यो अभियानलाई शान्ति–सुरक्षा सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरेले प्रदेशका १४ वटै जिल्लामा गुण्डागर्दी र बिचौलिया नियन्त्रण अभियान सञ्चालन गरिएको बताए । उनले सर्बसाधारणलाई विभिन्न प्रकारका डर, धम्की दिने, विभिन्न बहनामा रकम असुल गरी शान्ति सुरक्षामा खलल पुर्याउने र सरकारी कार्यालयहरुमा सेवाग्राहीको काममा बिचौलियाको भूमिका खेल्नेबिरुद्ध प्रहरी परिचालन गरिएको बताए । सर्बसाधारणलाई कसैले डरधम्की र त्रास फैलाय त्यस्ता ब्यक्तिहरुको बारे नजिकैको प्रहरी कार्यालयमा तत्काल जानकारी दिन पनि डिआइजी घिमिरेले सबैमा आग्रह गरेका छन् ।
स्रोत : अन्नपूर्ण
