कांग्रेस–एमाले–जसपाबीच चुनावी गठबन्धन, तीन दलसँग एक्लो प्रतिस्पर्धी नेकपा

संवाददाता
संवाददाता

काठमाडौं– राष्ट्रिय सभाका रिक्त १९ सिटमध्ये १७ सिटका लागि आइतबार मतदान हुँदै छ ।

२० फागुनदेखि कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये कोशी प्रदेशको खस–आर्यतर्फ एक सिटमा कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

बाँकी एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

निर्वाचन आयोगका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातवटै प्रदेशका तोकिएका मतदानस्थलमा मतदान हुनेछ ।

यस निर्वाचनमा कुल ४४ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

यसपटक कांग्रेस र एमालेबीच सात–सात सिट बाँडफाँटको सहमति भएको छ ।

मधेश प्रदेशमा जसपा नेपाललाई तीन सिट दिइएको छ भने एक सिट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका महन्थ ठाकुरका लागि छुट्याइएको छ ।

ठाकुर हाल जसपा नेपालसँग एकता गरिसकेका छन् । नेकपा भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

मतभारका हिसाबले कांग्रेसको २१ हजारभन्दा बढी, एमालेको १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनबाट महिला सात, दलित दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक दुई र अन्य क्लस्टरबाट सातजना गरी कुल १८ जना नयाँ राष्ट्रिय सभा सदस्य चयन हुनेछन् ।

मधेश प्रदेशबाट चार, कोशीबाट तीन, बागमतीबाट दुई, गण्डकीबाट दुई, लुम्बिनीबाट तीन, कर्णालीबाट दुई र सुदूरपश्चिमबाट दुईजना निर्वाचित हुनेछन् ।

कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धन र नेकपाबीचको प्रतिस्पर्धासहित भइरहेको यो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नेछन् ।

स्रोत : विश्वखबर

Leave a Comment

सम्बन्धित खबर