ओमकार परिवारद्वारा हिन्दु आस्थामाथि चोट पुर्याउने व्यक्तिविरुद्ध कारबाहीको माग गर्दै ज्ञापनपत्र

संवाददाता
संवाददाता

बाँके,नेपालगञ्ज, १८ पौष २०८२ । सनातनी ओमकार परिवारले हिन्दु धर्म र आस्थामाथि सामाजिक सञ्जालमार्फत अभद्र टिप्पणी तथा भिडियो बनाउने जुनेद खान विरुद्ध कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

जुनेद खान खजुरा गाउँपालिकाका बासिन्दा भए पनि हाल विदेशमा रहेका ती व्यक्तिले फेसबुक र टिकटक जस्ता प्लेटफर्मबाट हिन्दु धर्मको अपमान गर्ने सामग्री प्रसारण गरेको आरोप लगाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर महेश कुमार गुरुङ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा हिन्दु धर्मप्रति आस्था राख्ने युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसैगरी विज्ञप्ति बुझाउन शिवसेना महासचिव मंगल जी जीएम, शिवसेना केन्द्रीय सदस्य राजकुमार रौनियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर अध्यक्ष हुकुम सिंह केसी, राप्रपा नगर सचिव गजेन्द्र खड्का, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी युनियन सदस्य तथा हाल राप्रपा नगर युवा समिति सचिव सुशील बर्मा, ज्ञानोदय बहुमुखी क्याम्पस खजुराका पूर्व सभापति विनय यादव लगायतका व्यक्तित्वहरूको सहभागी भएको बर्माले बताए ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, सामाजिक सञ्जालबाट हिन्दु धर्मको अपमान गर्ने कार्यले समुदायको भावना आहत भएको छ । ओमकार परिवारले यस्ता तत्वहरूलाई समयमै कारबाही नगरे सामाजिक सद्भाव खल्बलिने बताएको छ । “हिन्दु धर्मको सम्मान र आस्थाको रक्षा गर्नु राज्यको दायित्व हो,” ज्ञापनपत्रमा भनिएको छ ।

 

यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको यो जाहेरीमा समस्त हिन्दुवादीहरूले यस्ता घटनाको कडा निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

Leave a Comment

सम्बन्धित खबर