जनजाति कल्याण आश्रमद्वारा सञ्चालित “आमाको माया छात्रावास ” चौथो वार्षिकोत्सव सम्पन्न

संवाददाता
संवाददाता

नेपालगञ्ज, मंसिर २० (बाँके) । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालगञ्जको चौथो वार्षिकोत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ । बाँकेको नेपालगञ्ज–१८, परसपुरस्थित छात्रावासको आफ्नै नवनिर्मित भवन प्रांगणमा आयोजित कार्यक्रममा सहभागीहरूले जनजाति समुदायका बालबालिकाको शिक्षामा यो संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।


कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङले प्रस्तुति दिँदै देशभर ११ वटा आमाको माया छात्रावास सञ्चालित रहेको र तिनमा करिब ३०० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । तीमध्ये चितवनको नारायणगढमा छोरीहरूका लागि छुट्टै छात्रावास रहेको र यी छात्रावासहरूले संस्कारसहितको शिक्षा प्रदान गरी समाजसेवी तथा दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनले बताए । उनले जनजाति शिक्षा–संस्कार केन्द्र र खेलकुद केन्द्रहरू पनि सञ्चालनमा रहेको उल्लेख गरे ।

कार्यक्रमका मुख्य अतिथि तथा भारतको वनवासी कल्याण आश्रमका अखिल भारतीय संगठन मन्त्री अतुल जोगले जनजाति कल्याण आश्रम कुनै गैरसरकारी संस्था (एनजीओ) नभई जनजाति समुदायको सामाजिक उत्थानका लागि समर्पित संगठन भएको स्पष्ट पारे । उनले यस्ता छात्रावासहरू केवल पढाइको थलो मात्र नभई सामाजिक रूपान्तरण र भविष्यका कर्मठ कार्यकर्ता निर्माणको केन्द्र बनेको धारणा राखे ।


छात्रावासका निवर्तमान अध्यक्ष आशीष अग्रवालले सहयोगदाताहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । उनले अन्य दाताहरूलाई पनि यस पुण्य कार्यमा जोडिन आग्रह गरे ।

छात्रावासकी कोषाध्यक्ष दीपिका थापा अधिकारीले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गरिन् । प्रतिवेदन अनुसार उक्त वर्ष ३ लाख ८६ हजार १४० रुपैयाँ नगद र २ लाख ४ हजार ७५० रुपैयाँ बराबरको जिन्सी सहयोग संकलन भएको तथा कुल ५ लाख ९१ हजार ७३ रुपैयाँ खर्च भएको जनाइएको छ ।


कार्यक्रमको अन्त्यमा छात्रावासको नयाँ कार्यसमिति गठन गरियो । सर्वसम्मत रूपमा संजय अग्रवाललाई नयाँ अध्यक्षको जिम्मेवारी दिइएको छ ।


सामाजिक सुविधाबाट वञ्चित जनजातीय समुदायका बालबालिकालाई आवासीय शिक्षा प्रदान गरी उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले जनजाति कल्याण आश्रम नेपालले देशका विभिन्न स्थानमा ११ वटा आमाको माया छात्रावास सञ्चालन गर्दै आएको छ ।

Leave a Comment

सम्बन्धित खबर