भारततर्फबाट अवैध रूपमा छिर्ने बंगलादेशी र रोहिंग्या नियन्त्रणमा पर्सा प्रशासन सतर्क, सीमा निगरानी कडा

संवाददाता
संवाददाता

वीरगञ्ज । भारततर्फबाट अवैध रूपमा प्रवेश गर्ने बंगलादेशी तथा रोहिंग्या समुदायका व्यक्तिहरू नेपालमा छिर्न थालेको सूचनापछि पर्सा जिल्ला प्रशासन उच्च सतर्क अवस्थामा पुगेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारी गर्दै वीरगञ्जलगायत सबै नाका र सीमाक्षेत्रमा सुरक्षा निगरानी कडाइ गरिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा विभिन्न सञ्चारमाध्यम तथा कार्यालयमा प्राप्त ज्ञापनपत्रका आधारमा परिचय नखुलेका शंकास्पद व्यक्तिहरू भारततर्फबाट अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने आशंका व्यक्त गरिएको छ। त्यसैले सीमाक्षेत्रमा प्रहरी तथा सशस्त्र प्रहरीद्वारा चेकजाँच थप कडा गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले जिल्लामा शंकास्पद व्यक्तिहरू देखा परेमा नजिकको सुरक्षा निकायलाई तुरुन्त जानकारी दिन स्थानीयवासीलाई आग्रह गरेको छ। साथै, परिचय नखुलेका व्यक्तिलाई घरमा बस्न नदिने र कुनै पनि प्रकारको कार्यमा संलग्न नगराउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अनुरोध गरिएको छ।

यसअघि मंसिर १४ गते जेनजी युवाहरू र हिन्दु सम्राट सेना नेपालका प्रतिनिधिहरूले पर्सा प्रशासनमा ज्ञापनपत्र बुझाउँदै भारतबाट लखेटिएका रोहिंग्या तथा बंगलादेशी नागरिकहरू खुला सीमा हुँदै नेपाल पस्न थालेको भन्दै सीमा सुरक्षामा कडाइ गर्न माग गरेका थिए।

नेपाल–भारतबीचको खुला सीमाको दुरुपयोग हुँदै मानव तस्करी, घुसपैठ तथा संगठित आपराधिक गतिविधि बढेको भन्दै स्थानीयवासी पनि चिन्तित बनेका छन्। प्रशासनले कडाइ गरेको निगरानीले अवैध गतिविधि नियन्त्रणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

स्रोत : yatraddally

Leave a Comment

सम्बन्धित खबर