
नेपालगञ्ज, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ अन्तर्गत त्रिभुवन चोक नजिकै रहेको संगमरमरी शिवालय मन्दिरको पूर्वतर्फ फैलिएको फोहोर र दुर्गन्धले स्थानीयबासी तथा श्रद्धालु दुवै पक्षलाई समस्या परेको छ।


मन्दिर वरपरका पसलहरू, घरहरू र बस्तीमा दिनदिनै कूडा–कचरा थुप्रिने गरेको छ। खुला मैदान भएकाले केही व्यक्तिहरूले यहाँ दिसापिसाब गर्ने र फोहोर फाल्ने गरेको पाइएको छ। यसले गर्दा वरपर दुर्गन्ध फैलिएको र पिसाबको फोहोर पानीले गर्दा स्थानीयहरूको आवतजावत कठिन बनेको छ।


स्थानीयहरूका अनुसार यसअघि दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने मन्दिरमा फोहोरका कारण भक्तजनको संख्या उल्लेख्य रूपमा घटेको छ।

स्थानीय राजु वैश्य र अन्यले १५ दिनअघि वडा नम्बर ८ का अध्यक्ष विवेक बाजपेयीसमक्ष सफाई व्यवस्था सुधार्न माग गरेका थिए। अध्यक्षले सफाई पनि गराएका थिए, तर केही अटेर व्यक्तिहरू अझै फोहोर फाल्न र फैलाउन छोड्न मानेका छैनन्।

यसैगरी, मन्दिर नजिकै वडा सदस्य निखिल वैश्यको घर छ भने सडकको पश्चिमतर्फ प्रसिद्ध नारायण स्कूल रहेको छ, जहाँ सयौँ विद्यार्थीहरू पढ्न आउँछन्। हजारौँ यात्रुहरू भेरी अस्पताल आउजाउ गर्ने यही बाटो हो। दुर्गन्धका कारण मानिसहरू नाक–मुख छोपेर हिँड्न बाध्य भएका छन्।


स्थानीय नीरज वैश्य र श्रद्धालुहरूले धार्मिक स्थल वरपर फोहोर फाल्नेहरूलाई प्रशासनले चिन्हित गरी कारबाही गर्नुपर्ने बताए ।
