
नेपालगञ्ज, १८ कात्तिक (२०८२) । नेपालगञ्ज उप–महानगरपालिकाले रत्न राजमार्गको बीपी चोकदेखि धम्बोजी चोकसम्म दुवैतर्फ फुटपाथ र बृक्षरोपण निर्माण थाल्ने भएको छ। यो काम सुरु गर्न सडकको नालाबाहिर ७ फिटभित्रका सबै अस्थायी/स्थायी संरचना हटाउन १५ दिने अन्तिम सूचना जारी गरेको छ।


सूचनामा भनिएको छ– टहरा, होर्डिङ बोर्ड, पोल, पर्खाल वा जुनसुकै संरचना भए मंसिर २ गते (२०८२।०८।०२) सम्म आफैँ हटाउनु। नहटाए उपमहानगरले आफैं खटेर भत्काइने जनाएको छ।
क्षति र खर्चको जिम्मेवार को?
हटाउँदा भएको सबै नोक्सानीको जिम्मेवार संरचना धनी आफैँ।
हटाउने खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५(४) बमोजिम जरिवाना सहित असुलिने।
बीपी चोक–धम्बोजी खण्ड राष्ट्रिय राजमार्गअन्तर्गत पर्छ। पैदलयात्रीलाई सुरक्षित फुटपाथ र हरियाली दिन उपमहानगरले तत्काल काम थाल्दैछ। यो सडक नेपालगञ्जको मुख्य प्रवेशद्वार हो, जसलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्य रहेको बताएको छ।
प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्वारा हस्ताक्षरित सूचना आजै उपमहानगरको वेबसाइट र फेसबुक पेजमा अपलोड गरिएको छ। प्रभावित व्यवसायीहरूले तत्काल वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।

