
नेपालगन्ज, बाँके, कात्तिक १७, २०८२ – नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक आइतबार (कात्तिक १६) शाखा कार्यालयमा बसेको छ। शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकारिताको सिद्धान्तविपरीत हुने मनोमानी तथा अभद्र शैलीका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै जिम्मेवार पत्रकारिताको आह्वान गरेको छ।

बैठकले पछिल्लो समय पत्रकारिता आचारसंहिताको उल्लंघन हुने गरी भइरहेका गतिविधिलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। यसै सन्दर्भमा सम्पूर्ण साधारण सदस्य तथा क्रियाशील पत्रकारहरूलाई नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सचेत गराउने निर्णय गरिएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। साथै, सामाजिक सञ्जालको ‘विवेकपूर्ण प्रयोग’ गर्न पनि सबैमा आह्वान गरिएको छ।
यसैगरी, आर्थिक व्यवस्थापनका लागि शाखाको एभरेष्ट बैंक नेपालगन्ज शाखामा रहेको मौज्दात रकमलाई दुई वर्षका लागि मुद्दती निक्षेपमा राख्ने निर्णय बैठकले गरेको छ।

