दुई दिनको वर्षाले मधेश प्रदेशमा आठ को मृत्यु, आठ हजार परिवार विस्थापित

संवाददाता
संवाददाता

शुक्रबार रातिदेखि आइतबार बिहानसम्म भएको अविरल वर्षाका कारण मधेश प्रदेशमा व्यापक क्षति भएको छ । मधेश प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्षासँगै आएको चट्याङ, बाढी र डुबानका कारण मधेश प्रदेशमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

सोमबार मात्रै रौतहटमा लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका– ८, बलुवागोठ टोलका गोनवर मियाका छोरा १० वर्षीय अरबाज मिया रहेका छन् ।

अरबाज सोमबार दिउँसो २ बजे घरनजिकै रहेको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।खोजतलास गर्दा २ बजे ४० मिनेटमा मृत अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।

त्यसैगरी, वर्षाको बेला आएको चट्याङका कारण रौतहटमा तीन जनाको मृत्यु भएको छ । रौतहट ईशनाथ नगरपालिका– ८, मनसरीका करिब ४५ वर्षीय शेख जमरुल, कटहरिया नगरपालिका–२, हथियायीका १६ वर्षीय शेराज लहरी र नवीन यादवको चट्याङ लागेर मृत्यु भएको छ ।

त्यसैगरी, रौतहट माधवनारायण नगरपालिकाका– २ की ७५ वर्षीया पनवादेवीको बागमती नदीमा डुबेर मृत्यु भएको छ । उनी बाढी आएको बेलामा नदीमा दाउरा टिप्न गएकी थिइन् । धनुषा, सर्लाही र रौतहटमा एक/एक जनाको बेवारिसे शव बरामद भएको छ ।

त्यसैगरी, बारा प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गिरीको टिकटक बनाउन दुधौरा खोलामा हाम फालेदेखि बेपत्ता छन् । घटना भएदेखि खोजतलास गर्दा पनि शव फेला नपरेपछि प्रहरीले खोजताल स्थगित गरेको छ ।

मधेश प्रहरीका अनुसार वर्षामा ४० वटा घर पूर्ण रूपमा क्षति भएका छन् । वर्षा र डुबानका कारण ८ हजार ४९ घरपरिवार विस्थापित भएका छन् । त्यसैगरी, ५२ वटा चौपाया गाईवस्तुको मृत्यु भएको छ ।मधेश प्रदेश प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाले भने, ‘यो प्रारम्भिक क्षतिको विवरण हो । अझै धेरै विवरण संकलन हुने क्रममा छन् ।’

वर्षा रोकिए पनि वर्षाले निम्त्याएको बाढी, डुबानमा परेकाहरूको उद्धार कार्य अझै जारी रहेको थापाले बताए । उनले भने, ‘पहिलो चरणमा बाढी तथा डुबानमा परेकाहरूलाई उद्धार कार्य गरिएको छ । अहिले विस्थापितहरूलाई विभिन्न संघसंस्थाहरूको समन्वयमा राहत वितरण गर्ने कार्य भइरहेको छ ।’

स्रोत : शिलापत्र

Leave a Comment

सम्बन्धित खबर