मूर्ति विसर्जनका क्रममा झडप, दोषीमाथि कडा कारवाही गर्ने सहमति,सुरक्षा व्यवस्था कडा

संवाददाता
संवाददाता

नेपालगन्ज, १८ असोज २०८२ । नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा शुक्रबार भएको झडप र उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारवाही गर्ने सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार भएको सर्वपक्षीय छलफलले घटनाको छानबिन गरी दोषीहरूलाई पहिचान गरेर कारवाही गर्ने निर्णय गरेको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, छलफलमा धार्मिक सद्भाव कायम राख्न, आपसी झैझगडा र रिसराग हटाउन, तथा कुनै पनि उच्छृंखल गतिविधि नगर्ने सहमति भएको छ। यदि कसैले यस्ता गतिविधि गरेमा तत्काल कारवाही गरिनेछ। साथै, प्रहरी प्रशासनको अनुमति बिना नारा, जुलुस, सभा, सम्मेलन वा र्‍यालीजस्ता कुनै पनि कार्य गर्न नपाइने निर्णय भएको छ।

प्रहरी उपरीक्षक जिसीले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने व्यक्तिहरूलाई निगरानी गरी साइबर अपराधअन्तर्गत कारवाही गरिने बताए। बैठकमा प्रहरी प्रशासन, धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

झडपमा ३० जना घाइते, अवस्था नियन्त्रणमा

शुक्रबार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडक खण्डमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा प्रहरीसहित ३० जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांश सामान्य उपचारपछि घर फर्किएको र चार जनाको भेरी अस्पताल तथा नर्सिङ होममा उपचार भइरहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए।

झडप केही उच्छृंखल व्यक्तिका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनालगत्तै प्रहरी टोलीले तत्कालै स्थिति नियन्त्रणमा लिई मानवीय क्षति हुनबाट जोगाएको थियो। प्रहरीको सक्रियता र प्रभावकारी व्यवस्थापनका कारण कुनै अप्रिय घटना हुन पाएन।

नेपालगन्जको अवस्था सामान्य, सुरक्षा व्यवस्था कडा

हाल नेपालगन्जको अवस्था सामान्य रहेको छ। जोखिमपूर्ण क्षेत्रमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालयले सबै पक्षलाई धार्मिक सद्भाव कायम राख्न र उच्छृंखल गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

Leave a Comment

सम्बन्धित खबर